Kathmandu Press

बैतडीमा देखिए कालाजारका बिरामी

बैतडी, फागुन २९ : बैतडीमा कालाजारका बिरामी भेटिएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको हो।धनगढीमा उपचार...
बैतडीमा देखिए कालाजारका बिरामी
kalajar

बैतडी, फागुन २९ : बैतडीमा कालाजारका बिरामी भेटिएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको हो।

धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ। 

Hardik ivf

उनले भने, 'कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमुना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमुना सङ्कलन गरेर परीक्षण गरेका छौं।' स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयवासीको कालाजार परीक्षण गरेको हो। नमुना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक जोशीको भनाइ छ। 

समुदायका अन्य व्यक्तिमा पनि कालाजारको सङ्क्रमण हुन सक्ने भएकाले परीक्षण गरिएको बताइएको छ। नमुना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कालाजार भएनभएको रगत परीक्षणबाट थाहा हुन्छ। कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको सङ्क्रमण हुने, तौल घट्ने, थकान महसुस हुने, रक्तअल्पता हुनेलगायतका लक्षण देखा पर्दछन् । 

कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाई) ले टोकेर हुने सरुवा रोग हो। रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ।

लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो। यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ।

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्