सडक मर्मत गर्दा नौबिसे-मुग्लिङ खण्डमा ३० किमी जाम
काठमाडौं, असोज १० : दशैंको मुखमा आएर सडक मर्मत गर्दा नौबिसे–मुग्लिङ सडकखण्डमा दुई दिनदेखि सवारी साधनको जाम लागेको छ। जसका कारण उपचारका लागि काठम....

काठमाडौं, असोज १० : दशैंको मुखमा आएर सडक मर्मत गर्दा नौबिसे–मुग्लिङ सडकखण्डमा दुई दिनदेखि सवारी साधनको जाम लागेको छ। जसका कारण उपचारका लागि काठमाडौं आउदै गरेका एक यात्रुको ज्यानै गएको छ।
एक साता यता त्रिभुवन राजपथ मर्मत भइरहेको छ। दशैंका लागि काठमाडौंबाट बाहिरिने र भित्रिने चाप बढेको समयमा सडक मर्मत गर्दा जाम लागेको हो। त्रिभुवन राजपथसँगै पृथ्वी राजमार्गमा पनि जाम भएको छ।
पृथ्वी राजमार्गमै रहेको धादिङको महादेवबेसी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले बिहीबार बिहानदेखि जाम लागेको बताए। उनका अनुसार, ३० किलामिटर लामो जाम लागेको छ। जसले गर्दा एम्बुलेन्सलाई वारपार गर्न पनि समस्या भएको छ।
बिहीबार बिहानदेखि लाग्न थालेको जाम साँझ भने ठप्प नै भएको छ। काठमाडौं आउने यात्रु १५ घण्टादेखि जाममा बसिरहेका छन्। लामो समय जाममा बस्दा रौतहतको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको उनले बताए।
उनी उपचारका लागि काठमाडौं आउदै थिए। ना ७ ख ५३६४ नम्बरको बसमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको हो। उनी मिर्गौलाबाट पीडित थिए।
काठमाडौं आउनेसँगै बाहिरिने यात्रु पनि जाममा परेका छन्। दशैंका लागि बिहीबार काठमाडौंबाट हिडेका यात्रु शुक्रबार मध्याह्नसम्म पनि नौबिसे–मुग्लिङको जामै बसिरहेका छन्।











