क्यानको अधिवेशन: अध्यक्षमा पाण्डे र चन्दबीच प्रतिस्पर्धा
काठमाडौं, असोज १० : नेपाल क्रिकेट संघ (क्यान)को अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। अध्यक्षका लागि पूर्वअध्यक्ष विनयराज पाण्डे र पूर्वउपाध्यक्ष चतुरबहाद....

काठमाडौं, असोज १० : नेपाल क्रिकेट संघ (क्यान)को अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। अध्यक्षका लागि पूर्वअध्यक्ष विनयराज पाण्डे र पूर्वउपाध्यक्ष चतुरबहादुर चन्द भिड्दै छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को समन्वयमा विशेष साधारणसभा तथा अधिवेशन हुन लागेको हो। अधिवेशन आज र भोलि चल्नेछ। नयाँ नेतृत्वका लागि भोलि निर्वाचन हुनेछ। अध्यक्षका लागि प्रतिस्पर्धी पाण्डे पूर्वअध्यक्ष हुन्। उनले ४० वर्ष क्यानमा बिताएका थिए।
त्यस्तै, अर्का उम्मेदवार चन्द पूर्वउपाध्यक्ष हुन्। उनी २०७२ मा भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। तर, राष्ट्रिय खेलकुद परिषद्ले मान्यता नदिएपछि उनले कार्यभार सम्हाल्न पाएनन्।
तत्कालीन सरकारले अहिलेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा छुट्टै तदर्थ समिति गठन गरेको थियो। त्यसपछि राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई निलम्बन गरेको थियो।
क्यान अहिले पनि निलम्बनमै छ। निलम्बन फुकुवाका लागि आईसीसीकै समन्वयमा क्यानको विधान संशोधन गरिएको थियो भने अहिले अधिवेशन हुन लागेको हो। आजदेखि सुरू हुने क्यान अधिवेशनमा ३९ जिल्लाबाट ३९ र सात प्रदेशबाट २० गरी ५९ जना प्रतिनिधि छनोट भएका छन्। उनीहरूले नै मतदान गर्न पाउनेछन्।
अध्यक्षको उम्मेदवार बन्न लागेका पाण्डेयले क्यानलाई ट्रयाकमा ल्याउन आफू उम्मेदवार बन्न लागेको बताएका छन्। अघिल्लो पटक काम गर्न नपाएकाले अहिले उम्मेदवार बन्न लागेको चन्दको भनाइ छ।











