अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै
लमजुङ, फागुन २९ : अहिले चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै गएको छ। तेस्रो लहरकाे कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै बिस्तारै आउन थालेका...
लमजुङ, फागुन २९ : अहिले चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै गएको छ। तेस्रो लहरकाे कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै बिस्तारै आउन थालेका पर्यटक केही दिनअघिदेखि भने अझै वृद्धि हुँदा यस पदमार्गमा पर्यटकको चाप बढ्दै गएको हो।
कोरोना सङ्क्रमणका कारण पर्यटक आउन छोडेको यस पदमार्गमा कोरोनाको तेस्रो लहरको जोखिम कम भएसँगै दैनिक दुई चार जना मात्र आउन थालेकामा यतिबेला भने दैनिक ४०/५० भन्दा बढी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का धारापानीस्थित पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए।
पदमार्गमा अझै पर्यटक वृद्धि हुँदै जाँदा विगतका जसरी दैनिक ४/५ सयभन्दा बढी पर्यटक आउने सम्भावना रहेको उनको भनाइ थियो। यतिबेला पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायीको आम्दानीसमेत वृद्धि हुन थालेको छ।
पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, 'पर्यटक आगमनमा कमी हुँदा आम्दानी नहुने चिन्तामा बसे पनि यतिबेला भने राम्रो आम्दानी हुँदै जाने सम्भावना देखिएको छ। विगतमा दैनिक ५०/६० हजारभन्दा बढी आम्दानी हुन्थ्यो त्यसरी नै अब पर्यटक बढेमा आम्दानी हुने बढी सम्भावना छ।'
यतिबेला गुरुङले दैनिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्न थालेका छन्। यस पदमार्ग आसपासमा रहेका सयौं सङ्ख्याका होटल व्यवसाय पनि फस्टाउँदै जान थालेको छ।
पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ जान र कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। प्रवेशद्वार लमजुङमा पर्ने अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएका छन्।












