आजदेखि कांग्रेसको एक महिने चुनावी अभियान
नेपाली कांग्रेसले आज एक महिने चुनावी अभियान सुरु गर्न लागेको छ।
काठमाडौं, फागुन २९: नेपाली कांग्रेसले आज एक महिने चुनावी अभियान सुरु गर्न लागेको छ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न लागेको हो। कांग्रेसले घरघर जाऔं, कांग्रेसलाई जिताऔं नारा दिएर अभियान सञ्चालन गर्न लागेको हो।
आज एकैपटक देशका ७७ जिल्लामा अभियान सुरुआ गर्न लागिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए। दिउसो १ बजे सबै जिल्लामा एकैसाथ केन्द्रीय नेताहरुले अभियानको उद्घाटन गर्दै छन्।
अभियानका लागि कांग्रेसले सबै जिल्लामा केन्द्रीय सदस्यलाई खटाइसकेको छ। प्रत्येक जिल्लामा केन्द्रीय नेताले अभियानको नेतृत्व गर्नेछन्।
एक महिने अभियानका क्रममा संगठन विस्तार, स्थानीय तह तथा वडासम्म कार्यसमिति गठन गरिने भएको छ। यससँगै अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा जानकारी दिइने भएको छ।
त्यस्तै, कांग्रेस नेतृत्वका सरकारले गरेका कामको प्रचार गरिने भएको छ। यसअघि नेकपा (एमाले) नेतृत्व सरकारले गरेका कमिकमजोरी पनि खोतल्न पनि कांग्रेसले निर्देशन दिएको छ।
यो अभियान चैत २९ गतेसम्म चल्ने भएको छ।











