सरकारले भन्यो- चिनियाँ राष्ट्रपति आउने पक्का भइसक्यो, अब छिट्टै मिति तय हुन्छ
काठमाडाैं, असोज ९ : छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए ....

काठमाडाैं, असोज ९ : छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए पनि मिति भने नटुङ्गिएको स्पष्ट पारेको छ।
चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको जानकारी दिँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन सबै प्रकारको तयारी गरिने बताएका हुन्।
असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, “हामी (सरकार) चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा छौँ, भ्रमणको मिति समयक्रमसँगै टुङ्गो लाग्छ, हामी यस प्रकारका भ्रमणलाई उच्च महत्व र सम्मान पनि दिन्छौँ।”
उनले (सी)को भ्रमणलाई द्विपक्षीय हित तथा सम्बन्ध नयाँ उचाइमा पुर्याउने गरी सरकारका तर्फबाट मात्र नभई सञ्चारमाध्यम र नागरिकका तर्फबाट पनि सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे। सञ्चारमन्त्री बाँस्कोटाले समस्यारहित सम्बन्ध रहेको छिमेकी मुलुक चीन अहिले विश्वको दोस्रो शक्तिशाली मुलुकको रुपमा रहेको र त्यहाँबाट विगत २३ वर्षदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई विशेष महत्वका साथ लिइएको उल्लेख गरे।
नेपाल सरकारले आफ्नो कूटनीतिक मामिला सञ्चालनमा यो वर्षलाई नयाँ उच्चस्तरीय भ्रमणको आदानप्रदानको वर्षको रुपमा नीति र कार्यक्रममै स्पष्ट रुपमा अघि बढाएकाले उत्तरी, दक्षिणी तथा युरोपियन वा अमेरिकन जुनसुकै मुलुक र मित्रराष्ट्रका भ्रमण भइरहनुपर्छ भन्ने सरकारको मान्यता रहेको उनले स्पष्ट पारे।
मन्त्री बाँस्कोटाले विश्वमै द्रुत गतिमा विकसित हुँदै गइरहेको छिमेकी मुलुक चीनको आर्थिक, सामाजिक उपलब्धिबाट नेपालले पनि लाभ लिन चाहेको बताए। रासस










