बाबुरामको विश्लेषण : एमाले र कांग्रेस उस्तै, माओवादी केन्द्र अवसरवादी, राप्रपा प्रतिक्रियावादी
जसपाको संघीय परिषद्को बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा डा भट्टराईले मुलुकका ठूला देखि साना राजनीतिक दलहरुको विश्लेषण गरेका हुन्।
काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमाले उस्तै उस्तै राजनीतिक दल रहेको विश्लेषण गरेका छन्। उनले नेकपा माओवादी केन्द्रलाई भने अवसरवादी दलको संज्ञा दिएका छन्।
जसपाको संघीय परिषद्को बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा डा भट्टराईले मुलुकका ठूला देखि साना राजनीतिक दलहरुको विश्लेषण गरेका हुन्।
प्रतिवेदनमा उनले कांग्रेस र एमालेको नीति उस्तै रहेको र ब्राण्ड नाममात्र फरक रहेको उल्लेख गरेका छन्। माओवादी केन्द्र भने उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा कांग्रेस र एमालेभन्दा केही लचिलो र उदार देखिएको उल्लेख गरेका छन्।
तर, यस्ता मुद्दाहरुमा माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गरेको बाबुरामको आरोप छ। उनले एमालेसँग एकताको अवधिमा पार्टीका सबै सवाल छाडेको र एमालेजस्तै भएको बताएका छन्।
उनले नेकपा (एकिकृत समाजवादी) भने के कारणले भिन्न छ भन्ने कुरा अझैपनि प्रष्ट नभइसकेको बताएका छन्। राप्रपा शक्तिले सानो भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको बताएका छन् । उनले लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्ने प्रोपगाण्डाहरुप्रति चनाखो रहनुपर्ने सुझाव पेश गरेका छन्।
ओलीको प्रतिगमनकारी कदमलाई साथ दिएको र पार्टी फुटाएको बताउँदै लोकतान्त्रिक समाजवादी पार्टीका बारेमा भने विश्लेषण गर्न आवश्यक नरहेको बताएका छन्। त्यस्तै विवेकशील–साझा पार्टीको एउटा पंक्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको भट्टराईको विश्लेषण छ ।











