Kathmandu Press

सिस्ने–२ मा भेटिएको सकेट बम निष्क्रिय

सिस्ने–२ मा भेटिएको सकेट बम निष्क्रिय
Hardik ivf

रुकुम पूर्व :  रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ। कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो।  

ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए। बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए। वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो। आज बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई निष्क्रिय गरेका हुन्।

दस वर्षे सशस्त्र जनयुद्ध क्रममा तत्कालीन नेकपा माओवादीका लडाकुले उक्त सकेट बम युद्धकालमा त्यहाँ छोडेको हुन सक्ने वडाध्यक्ष केसीले बताए। सेनानी बाबुलाल जिसी नेतृत्वको ११ को टोलीले बम निष्क्रिय गरेको प्रहरीले जनाएको छ। निष्क्रिय गर्दा ठूलो आवाजमा बम पड्किएको थियो। दुई चरणमा गरी सबै बम निष्क्रिय गरिएको हो।

प्रकाशित मिति: १९:२१ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्