Kathmandu Press

नेपाल श्रीलङ्का संयुक्त–११ सँग पराजित

काठमाडौँ, फागुन २७ : श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ। श्रीलङ्काको...
नेपाल श्रीलङ्का संयुक्त–११ सँग पराजित

काठमाडौँ, फागुन २७ : श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ। श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए।

त्यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहितकुमार पौडेलले २१ रनको योगदान गरे। आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दीपेन्द्रसिंह ऐरीले २ रन जोडे भने विनोद भण्डारी र सागर ढकालले समान १/१ रन बनाए। श्रीलङ्का संयुक्त–११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो। संयुक्त–११ का लागि अनुक फर्नान्डोले सर्वाधिक ५६ रन बनाए भने सान्दुन विराक्कोडीले ४९ रन जोडे।

दिलसान मुनाविराले १४, उपुल थरङ्गाले ३ , थिसेरा परेराले ८ रन जोडे। चमारा सिल्भा ६ र तथा निसन्था १८ रनमा आउट भए। कुमारस्वामी ३० र दिलरुवान परेरा १४ रनमा आउट भए। नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३/३ विकेट लिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए।

नेपालले यसअघि खेलेको तीन अभ्यास खेलमा जित हात पारेको थियो। नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का नेभी स्पोर्ट्स क्लबलाई १११ रन र दोस्रो खेलमा नेभीलाई नै ८२ रनले पराजित गरेको थियो। त्यस्तै हिजो भएको तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्का पुलिसलाई १४४ रनले पराजित गरेको थियो।

यस खेलसँगै नेपालको श्रीलङ्का भ्रमण समाप्त भएको छ। आइसिसी विश्वकप लिग २ अन्तर्गत युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नका लागि नेपाली टोली यही फागुन ३० गते संयुक्त अरब इमिरेट्स (युएई) जानेछ।

प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्