गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त
तम्घास, फागुन २७ : गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ । पालिकाभित्रका सबै घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाता लगाएर...
तम्घास, फागुन २७ : गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ । पालिकाभित्रका सबै घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाता लगाएर सकिएपछि बिहीबार पालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो।
सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गरे।
खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा ७२९ परिवारले जस्तापाता लगाएका छन् । उक्त कार्यका लागि विभिन्न आर्थिक वर्षमा गाउँपालिकाको रु दुई करोड ८४ लाख ३७ हजार ४२० खर्च भएको छ । आव २०७४÷०७५ मा नौ लाख ६९ हजार ७३८, ०७५÷७६ मा २३ लाख ७८ हजार ६० एवं ०७६÷०७७ मा रु एक करोड ६३ लाख ६६ हजार ६२२ खर्च भएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिए।
गाउँपालिकाका कूल ७२९ घरले खरको छाना हटाएर निःशुल्क जस्तापाता लगाएका छन् । गाउँपालिकाको वडा नं १ अग्लुङमा १४१, वडा नं २ बाँझकटेरीमा १८०, वडा नं ३ सिर्सेनीमा १४५ वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएका छन् ।
त्यस्तै वडा नं ४ म्यालपोखरीमा ३२, वडा नं ५ मलयागिरीमा १०७, वडा नं ६ पुर्कोटदहमा ५२ र वडा नं ७ भनभनेमा ७० वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएको गाउँपालिकाले जनाएको छ ।
पालिकाभित्र विभिन्न कार्यक्रममार्फत थप ३२५ वटा घर निर्माण गरिएको छ । एकीकृत बस्तीअन्तर्गत १७, भूकम्पपश्चात् निजी आवासअन्तर्गत १४१, सुरक्षित नागरिक आवासअन्तर्गत १२८, जनता आवासअन्तर्गत सात र नमूना बस्तीअन्तर्गत ३२ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो ।
सांसद विष्टले गरिबी र अभावका बीचमा पनि ग्रामीण भेगमा जस्तापाता लगाउनु ठूलो सफलता भएको जानकारी दिनुभयो । ‘खरको छानो भएको घरमा हुने पीडाबाट बाहिर निस्कन सकेका छौँ,’ उनले भने, ‘जिल्लाभर सबै पालिकामा खरको छानोमुक्त बनाउने अभियान चलिरहेको छ ।’ मदाने खरको छानोमुक्त हुने जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त घोषणा भइसकेको छ।












