Kathmandu Press

नगरपालिका मेयर र वडाध्यक्षनै विद्युत् चोरीमा संलग्न

काठमाडौं, माघ २१ : रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । 

नेपाल विद्युत प्राधिकरणको विद्युत ....

नगरपालिका मेयर र वडाध्यक्षनै विद्युत् चोरीमा संलग्न

काठमाडौं, माघ २१ : रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । 

नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले  मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको भेटिएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्याधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदिपकुमार शर्माको नेतृत्वमा छड्के चेकजाँच टोली खटाएका थिए । जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताए । 
टोलीले गत १४–२० माघमा रौतहटमा गरेको छड्के चेकजाँचको क्रममा गढीमाई नगरपालिकाको  बिनगरमा रहेको दुईवटा घरमा मेयर श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो । टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए ।

‘घर पछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट  एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ, त्योभन्दा अलि पर रहेको अर्को घरमा मिटर छ, त्यहाँबाट पनि चोरी गरेर वत्ति वालिएको घरमा लाइन ल्याइएको छ’,उनले भने,‘त्यो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ, हुकिङ काट्यौं तर चोरीको वत्ति प्रयोग गरिरहेको फेला परेपछि मान्छेको भीड जम्मा भयो उनीहरुले मिटर खोल्न दिएनन् ।’ 

तर, मेयरले विद्युत चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा मेयरका भाई संजिव कुमार यादवले सही गरेको शर्माले जानकारी दिए । उनले मुचुल्लाको फाइल गौर शाखालाई दिएर विगो तथा त्यसमा लाग्ने जरिवाना लगायतका कानुनी कारबाही गर्न निर्देशन दिइएको बताए । 
 

प्रकाशित मिति: १८:११ बजे, सोमबार, माघ २१, २०७५