भेरी नदीमा पुल निर्माण हुँदै
जाजरकोट, फागुन २६ : जाजरकोट-डोल्पा सडकखण्डको बीचमा रहेका भेरी नदीमा बेलिब्रिज पुल निर्माण कार्य जारी छ।निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेलिब्रिज निर्माण गर्ने...
जाजरकोट, फागुन २६ : जाजरकोट-डोल्पा सडकखण्डको बीचमा रहेका भेरी नदीमा बेलिब्रिज पुल निर्माण कार्य जारी छ।
निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेलिब्रिज निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ। जाजरकोटको नलगाड नगरपालिकाका-१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज बनाएर डोल्पा खण्डमा बेलिब्रिज पुल निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन चौरजहारीका इञ्जिनीयर सुरेश बस्यालले जानकारी दिए।
बेलिब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीेभेरी नदी तरेर सिधैँ डोल्पाको खदाङसम्म जान पाएका छन्। यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारी रोकिएको अवस्था थियो।
बेलिब्रिज नहुँदा यसअघि सवारीसाधन वारिपारी गराउन (तल्लुबगरबाट गोतामकोटसम्म) तुइनमार्फत तारेर रु. एक लाख ५० हजारप्रति पटक रकम खर्च गर्नुपर्ने बाध्यता थियो। अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलिब्रिज निर्माणको काम भइरहेको छ। इकोइन्फ्रा बिल्डर्सले यहाँ बेलिब्रिज निर्माण गरिरहेको छ।
बिल्डर्सका प्रतिनिधि मनोज लेखकले सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए। उनका अनुसार अस्थायी बेलिब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पुर्याइनेछ। अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलिब्रिज तयार गरिएको हो।
बिल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाडखोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलिब्रिज निर्माणको काम गरिरहेको छ। ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ, भने सामान जडान गर्न मात्र बाँकी छ।
अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलिब्रिज बन्दै छ भने रुपगाडखोला र करबगारखोलामा पनि पुल बनाइनेछ। सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जिनियर सुरेश बस्यालले ४ वटा बेलिब्रिज निर्माणको कार्य ६० प्रतिशतसम्म सकिएको बताए।
तल्लुबगरमा पुल नहुँदा नेपालगञ्ज, सुर्खेतलगायतका ठाउँबाट आएका सवारीसाधन तल्लुबगरमा रोकिने गरेका थिए। अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्यूँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए। अस्थायी बेलिब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताए।












