Kathmandu Press

गाँजा व्यापारीको अखडा बन्दै हलेसी

खाेटाङ : हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित...
गाँजा व्यापारीको अखडा बन्दै हलेसी
३२ किलाे गाँजासहित पक्राउ परेका युवराज राई र धीरज राई

खाेटाङ : हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकैपर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागुऔषध गाँजा लुकाएर राखेको छ, भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषध बेचबिखन तथा कारोबार महल अन्तर्गत जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए । ३२ किलो ४८५ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका उनीहरु दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

Hardik ivf

गत भदौ– ५ गते १५ केजी गाजाँसहित सोही नगरपालिका–७ महादेविस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरैबाट पक्राउ गरेको थियो । राईले प्रतिबन्धित लागुऔषध गाँजा बिक्री गर्न घरमा लुकाएर राखेको स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ। लागुऔषध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका सोही नगरपालिका–१ बाहुनीडाँडाका दुई युवकलाई प्रहरीले गत असोज–२८ गते उद्योगबाटै पक्राउ गरेको थियो । गाँजा, सुर्ती र चुना प्रयोग गरेर लागुऔषध उत्पादन गर्दै आएका बाहुनीडाँडास्थित बयाक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई उद्योगबाटै पक्राउ गरेर मुद्दा चलाएको थियो ।

पक्राउ परेका राई र नेपालीको उद्योगबाट सात केजी गाँजा, १५ बोरा प्याकिङ गरिएको भाले ब्राण्डको सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा लागुऔषध प्याकिङ गर्ने प्लाष्टिक, एक थान लागुऔषध बनाउने मेसिन, दुई बोरा लागुऔषध प्याकिङ गरिएको प्याकेटमा टालिने स्टिकर, दुई थान फलामे दाउ र एक थान अचानो बरामद गरेको थियो । पक्राउ परेका उनीहरु दुवैजनाविरुद्ध प्रहरीले मुद्दा चलाउनुका साथै उनीहरुको उद्योगबाट बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो । 

यस्तै गत चैत–४ गते सोही नगरपालिकाको वडा नं ७ राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार गाँजा कारोबारमा संलग्न रहेका राई हाल फरार रहेका र उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेर उनको खोजी  जारी रहेको जनाइएको छ । 

हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रुपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न तथा बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालयले अभियान नै सञ्चालन गर्दै आएको छ । विगत वर्षदेखि नै सञ्चालन गर्दै आएको अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले यस वर्षमात्रै करोडौँ मूल्य पर्ने गाँजा खेती नष्ट गरेको जनाइएको छ ।

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्