Kathmandu Press

हामी राणा शासनका बडाहाकिम जस्तै भयाैं : प्रचण्ड

बुटबल, असोज ९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था परिवर्तन गर्ने नेताहरुलाई पनि पुरानो संरचनाले भुत्ते बनाएको बताएका ....

हामी राणा शासनका बडाहाकिम जस्तै भयाैं : प्रचण्ड

बुटबल, असोज ९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था परिवर्तन गर्ने नेताहरुलाई पनि पुरानो संरचनाले भुत्ते बनाएको बताएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश समृद्ध बनाउन सबैले संस्कार र शैली फेर्नु पर्ने बताए। नेपालमा जनता, कार्यकर्ता र नेताले आन्दोलनबाट परिवर्तन गर्ने तर केही वर्षमा पुरानो संरचनाले भुत्ते बनाउने गरेको बताए।

‘जनता, पार्टी, नेता कार्यकर्ताहरूले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूल्ठूला घोषणा गर्ने तर केही वर्षपछि नेताहरूलाई पूरानो संरचनाहरूले विस्तारै भुत्ते बनाउँदै लैजाने गरेका छन्,’ प्रचण्डले भने।

उनले अहिलेका नेताहरु राणा शासनका बडाहाकिमजस्ता भएको बताए। ‘राणा शासनका हाकिम/बडाहाकिम थिए, आन्दोलनपछिका नेताहरू पनि बिस्तारै बडाहाकिमजस्ता हुने गरेका छन्,’ उनले भने।

गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू पनि भएको उल्लेख गर्दै यो व्यवस्था असफल हुँदा सबैभन्दा धेरै दोष आफूलाई आउने उनको भनाइ थियो। अध्यक्षले विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भएपनि अब भने समृद्धितर्फ जाने निश्चित रहेको उनले बताए।

अध्यक्ष प्रचण्डले अहिले नेपालमा लगानीको वातावरण रहेको र लगानीकर्ताले पर्याप्त नाफा कमाउन सक्ने अवस्था रहेको बताए।

‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ,’ उनले भने, ‘लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्नसक्नुपर्छ।’

उनले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटनको सम्भावना रहेको भन्दै त्यसका लागि पूर्वाधारको जरुरी रहेको बताए।

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, असोज ९, २०७६