नेपाल पर्वतारोहण सङ्घको साधारणसभा चैत ९ मा

काठमाडौं, फागुन २६ : पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो ।
महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो । यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो साताका लागि तय गरिएको छ । नेपाल एशोसिएशन अफ टूर एन्ट ट्राभल एजेन्ट्स् (नाट्टा) को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ ।
सङ्घका महासचिव कुलबहादुर गुरुङले संस्थाको साधारणसभाको मिति घोषणा गरेर आवश्यक तयारी भइरहेको जानकारी दिए। संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारणसभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उनको भनाइ छ । ‘बोर्ड बैठकले यही मार्चभित्रै निर्वाचन गर्ने भनेर छलफल गरियो तर विधानको केही धारा र दफामा समस्या रहेकाले विधान संशोधनका लागि साधरण सकेर जुनको पहिलो सातातिर निर्वाचन गर्नेगरी तयारीमा जुटेका छौ,’ उनले भने।
सङ्घको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारणसभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधानसमेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
आसन्न वषन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेरफर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने सङ्घको योजना छ । संस्थाको सन् २०२० को अगष्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुनसकेको थिएन । सङ्घको अध्यक्ष, पदाधिकारी र सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति रहन्छ । उक्त कार्यसमितिको कार्यकाल तीन वर्षको हुन्छ।












