दोलखामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, चार घाइते
दोलखा, फागुन २६ : दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।गौरीशङ्कर गाउँपालिका-४...
दोलखा, फागुन २६ : दोलखाको गौरीशङ्कर गाउँपालिका झ्याकुमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
गौरीशङ्कर गाउँपालिका-४ झ्याकु गोर्पाङमा ना ६ त २७७५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा झ्याकु निवासी ३३ वर्षीय लीलाबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
दुर्घटनामा परी झ्याकुका १५ वर्षीय ङाङ्छुङ शेर्पा, २१ वर्षीय आङ्फुर्वा शेर्पा, ५० वर्षीय पछिरी शेर्पा र १७ वर्षीय आङ्टोपे शेर्पा घाइते भएको दोलखा प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।
घाइतेमध्ये १५ वर्षीय ङाङ्छुङ शेर्पाको निधारमा चोट लागेको कारण थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको छ। अन्य बिरामीको सिंगटी अस्पतालमा उपचार भइरहेको छ।
गौरीशंकर ४ गोर्पाङबाट ढुङ्गा लिएर झ्याकु जाँदै गरेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












