Kathmandu Press

हवाइ सुरक्षामा व्यापक सुधार गरेको आइकाओ महासभामा मन्त्री भट्टराईको ब्रिफिङ

काठमाडौं, असोज ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले पछिल्लो समय हवाई सुरक्षामा व्यापक सुधार गरेको दाबी गरेका छन्....

हवाइ सुरक्षामा व्यापक सुधार गरेको आइकाओ महासभामा मन्त्री भट्टराईको ब्रिफिङ

काठमाडौं, असोज ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले पछिल्लो समय हवाई सुरक्षामा व्यापक सुधार गरेको दाबी गरेका छन्। मन्त्री भट्टराईले हवाइ दुर्घटना घटेको बताउँदै विमानस्थलको सुधार र प्रविधिमा ध्यान दिएको बताएका छन्।

क्यानडाको मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४०औं महासभालाई सम्बोधन गर्दै उनले आइकाओले भनेका विषयमा सुधारमा तल्लिन रहेको बताएका छन्।

नेपालको विशिष्टीकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि हवाई दुर्घटनाको दरलाई नेपालले पछिल्लो सयम घटाउँदै लगेको मन्त्री भट्टराईले बताए। युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको उनको भनाइ थियो।

नेपालमा पर्यटन प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राख्दै सम्पर्क विस्तार गर्ने, विमानस्थलको स्तरोन्नति र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, संचालन र व्यवस्थापनका लागि सरकारले नयाँ रणनीति लिएको समेत उनले जानकारी दिए।

मन्त्री भट्टराईले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागिएको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जानकारी गराए। उनले सबैलाई नेपाल भ्रमणको लागि निम्तो समेत दिएका छन्।

आइकाओको महासभामा एक सय ७२ राष्ट्रका एक हजार आठ सय ५० पर्यवेक्षक, तीन सय ५० सल्लाहकार, ६६ अन्तर्राष्ट्रिय संघसंस्थाका तीन सय जना गरी करिब दुई हजार पाँच सय प्रतिनिधिहरु सहभागी छन्। सेप्टेम्बर २४ देखि सुरू भएको महासभा अक्टोबर ४ सम्म चल्नेछ।

सम्मेलनमा नेपालबाट मन्त्री भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी छन्।

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्