यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं, असोज ९ : दशैं नजिकिँदै गएपनि आकाश खुल्ने देखिएको छैन। आगामी तीन दिन पनि देशभर सामान्यदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको....

काठमाडौं, असोज ९ : दशैं नजिकिँदै गएपनि आकाश खुल्ने देखिएको छैन। आगामी तीन दिन पनि देशभर सामान्यदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले तीनको मौसम अवस्थाको आंकलन गर्दै सामान्य बदली रहने जनाएको छ। देशभर सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित वर्षा हुने जनाएको छ।
आज दिनभर मौसम बदली भइरहनेछ। देशका केही स्थानमा मेघ गर्जनसहित हल्का र भारी वर्षा हुने जनाएको छ।
राति पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
हाल देशभरी बदली रही मध्य नेपालमा वर्षा भईरहेको छ। मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको छ। नेपालको मध्य र पूर्वी भागमा दक्षिण-पूर्वी जलवाष्य युक्त हावाको प्रभाव देखिएकोले मनसुनी गतिविधि बढेको छ।
— Nepal Weather Forecast (@DHM_Weather) September 26, 2019
त्यस्तै, शुक्रबार पनि देशभर सामान्य वर्षा हुने देखिएको छ। राति पनि पूर्वका थोरै र पश्चिमका केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित वर्षा हुने महाशाखाले जनाएको छ।
शनिबार पनि मौसममा सुधार आउने देखिएको छैन। सामान्य बदली भइ केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित सामान्य र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण पहिरो जान सक्ने र नदीहरुमा बाढी आउने सम्भावना भएकाले सचेत रहने जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।











