Kathmandu Press

शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसंघलगायतका सङ्गठन आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, असोज ९ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं ....

शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसंघलगायतका सङ्गठन आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, असोज ९ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताएका छन्।

शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र  अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा आजको बैठक सामयिक भएको बताए। समसामयिक विश्वमा द्वन्द्वको व्यापकता र अनुपात झन्झन् जटिल बन्दै गएको तथा त्यसले चुनौती थपेको वास्तविकता औँल्याउँदै उनले त्यसको सामना कुनै एउटा संस्थाले मात्र गर्न नसक्ने बताए।

मन्त्री ज्ञवालीले विविध जातीय, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक वर्णनले द्वन्द्वका फरक राजनीतिक तथा आर्थिक आयाम प्रकट गर्ने विचार व्यक्त गरे। यस्तै परिस्थितिबाट पार पाउन संयुक्त राष्ट्रसङ्घको वडापत्रका लेखकहरूले अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी र सहकार्यको परिकल्पना गरेको मन्त्री ज्ञवालीले बताए।

द्वन्द्व समाधानका लागि राष्ट्रसङ्घलाई आवश्यकताभन्दा बढी महत्व दिइएको बताउँदै परराष्ट्रमन्त्रीले भने, ‘द्वन्द्व समाधान र रोकथाममा क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अनुभवले देखाएको छ।’

द्वन्द्व समाधानमा क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनहरूबाट रचनात्मक भूमिका निर्वाह हुने बताउँदै उनले ती द्वन्द्व निवारक कूटनीति, मध्यस्थता, पुनःनिर्माण, द्वन्द्वोत्तर विकासका निम्ति ती सङ्गनहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

खाडी मुलुक साउदी अरेबिया र बहराइनले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति सघाउन तत्पर रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा  न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बुधबार साउदी र बहराइनका उच्च अधिकारीहरूबाट भएका बेग्लाबेग्लै भेटवार्तामा नेपालको समृद्धितर्फको यात्रामा सघाउने तत्परता व्यक्त भएको हो।

मन्त्री ज्ञवालीलाई साउदी अरेबियाका विदेशमन्त्री इब्राहिम अब्दुलाजिज अल असफले राजनीतिक स्थायित्व प्राप्तिसँगै विकासको बाटोमा लम्किएको नेपाललाई सक्दो सहयोग गर्ने बताए।

त्यस अवसरमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको थियो। नेपालीको श्रम गन्तव्य मुलुक साउदीमा नेपाली कामदारका हितको रक्षा र सुरक्षा, नेपालमा साउदी लगानी, व्यापारलगायत विषयमा केन्द्रित रहेर दुवै देशका मन्त्रीले विचार आदान–प्रदान गरेका थिए।

साउदी विकास कोषमार्फत नेपाललाई सहायता उपलब्ध गराउने सम्बन्धमा पनि दुवै देशका परराष्ट्रमन्त्रीले छलफल गरेका छन्। मन्त्री ज्ञवालीले लगानीका निम्ति नेपालमा उपयुक्त वातावरण बनेको तथा लगानीको प्रतिफल पनि सहजै फिर्ता लैजान सकिने व्यवस्था नेपाल सरकारले गरेकाले साउदी अरेबियाका लगानीकर्तालाई नेपालमा पूँजी परिचालनका निम्ति प्रेरित गर्न आग्रह गरे।

नेपालको पर्यटन पूर्वाधार तथा कृषिलगायत क्षेत्रमा लगानी गर्दा पर्याप्त लाभ हुने भएकाले ती क्षेत्र लगानीका निम्ति अति प्रभावकारी हुने जानकारी पनि मन्त्री ज्ञवालीले दिए।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को आगामी कार्यकालका लागि उम्मेदवारी दिएका नेपाल र साउदी अरेबियाले उक्त निर्वाचनमा कसरी साझेदारी गर्ने भन्नेबारेमा पनि मन्त्रीद्वयबीच छलफल भएको थियो।

परिषद् सदस्यमा एशिया–प्रशान्त क्षेत्रबाट चार देश सदस्य बन्नसक्ने प्रावधान छ, तर उक्त क्षेत्रबाट पाँच राष्ट्रले उम्मेदवारी दिएका छन्। (रासस)
 

 

प्रकाशित मिति: १०:०९ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्