आफ्नो कामबाट कसरी सन्तुष्ट हुने ?
कामको सानातिना अंशहरूले हामीलाई कति आनन्द र खुशी दिन्छ भनेर हामी कहिले पनि फुर्सद सोच्दैनौं। तर, अब सोच्ने बेला भएजस्तो छ। अमेरिकाका एक तिहाई ‘कामदार’ कामम....
कामको सानातिना अंशहरूले हामीलाई कति आनन्द र खुशी दिन्छ भनेर हामी कहिले पनि फुर्सद सोच्दैनौं। तर, अब सोच्ने बेला भएजस्तो छ। अमेरिकाका एक तिहाई ‘कामदार’ काममा मन नलाग्ने बताउँछन्। कारणहरू विविध छन्। कामसँग सबैको विशिष्ट सम्बन्ध पनि छ। कामलाई सुधार्ने सानातिना तरिका छन्। यस्ता सुधारले रोजगारको सन्तुष्टि पनि बढाउन सक्छ।
मायो क्लिनिकको एक अध्ययन अनुसार ‘आफूलाई अर्थपूर्ण लाग्ने काममा’ २० प्रतिशत समय बिताउने चिकित्सकहरू ‘थकानको जोखिमबाट नाटकीय रूपले टाढा’ हुन्छन्। यहाँ एउटा रोचक निष्कर्ष पनि छः २० प्रतिशतभन्दा धेरै समय बिताउनाले त्यसको ‘मार्जिनल’ प्रभाव हुन्छ किनभने ‘सबैभन्दा अर्थपूर्ण क्षेत्रमा बिताइने ५० प्रतिशत र २० प्रतिशत समयले हुने थकानको दर एउटै हुन्छ।’
अर्को शब्दमाः उल्लेखनीय फाइदा पाउनलाई आफ्नो कामलाई नै परिवर्तन गर्नु पर्दैन। थोरै परिवर्तन गरे मात्रै पनि पुग्छ। ‘काममा सफलता पाएका व्यक्तिलाई ध्यान दिएर हेरे, उनीहरूले सफलता पाएको नभएर बनाएको देखिनेछ,’ एश्ली गुडालले भने। गुडाल सिस्कोका वरिष्ठ उपाध्यक्ष तथा ‘नाइन लाइज अबाउट वर्क’ नामक पुस्तकका सहलेखक हुन्।
‘आफूलाई मनपर्ने काम पाए, जीवनमा कहिले काम गर्नु पर्दैन भनेर भाषण गरिन्छ। तर यो गलत हो,’ उनले भने। कामलाई प्रेम गर्ने सफल व्यक्तिले ‘सुरूमा भएको काम लिने र समयसँगै त्यसको अन्तरवस्तु रूपान्तरण गर्ने’ गुडाल बताउँछन्। कामलाई रूपान्तरण गर्नु सजिलो पक्कै छैन। तर, कहिँकतै सुरूवात त गर्नैपर्छ। त्यही सुरूवातको एकदमै सहज तर, आश्चर्यजनक तरिका छ। यसले तपाईँलाई सहयोग गर्नेछ।
एक सातासम्म, हरसमय एउटा ‘नोटप्याड’ बोक्नुहोस्। पानाको बीचबाट एउटा रेखा कोर्नुहोस्। एउटा ‘कोलम’ को शीर्षकमा ‘मनपर्ने’ र अर्कोमा ‘मन नपर्ने’ लेख्नुहोस्। जतिसुकै सानो काम होस्, गर्दा कस्तो अनुभव भयो, ध्यान दिनुहोस्। जोशजाँगर पलाउँछ कि? कामलाई लिएर उत्सुक हुनुहुन्छ कि? त्यो काम गर्दा समय बितेको पत्तै पाउनुहुन्न कि? वा कहिले सकिएला भनेर आलटाल गर्दै बस्नुहुन्छ कि? काम सकिएपछि एकदमै थकित अनुभव हुन्छ कि?
हो, मूर्खताजस्तो लाग्छ। तर, यो अभ्यासले कामको अदृश्य सुत्र र सुक्ष्म भेद खोल्न सक्छ। गुडाल र एडीपी रिसर्च इन्स्टिच्युटका सहप्रमुख तथा प्रतिभा विशेषज्ञ मार्कस बकिङघमले सहलेखन गरेको पुस्तकमा यसबारे लेखेका छन्। जीवनमा यसको अभ्यास पनि गरेका छन्।
‘कार्यस्थलको दैनिक वा साताव्यापी यथार्थप्रति आफ्नो भावनात्मक प्रतिक्रियाको लेखाजोखा राख्ने यो सुन्दर र साधारण तरिका हो,’ बकिङघमले भने,‘आफूलाई के ले उत्साह दिन्छ, बुझ्नुहोस्। तपाईँ के–को पछाडि लाग्नुहुन्छ, बुझ्नुहोस्। आफू सबैभन्दा बढी ऊर्जावान्, सिर्जनशील र जीवन्त कहाँ भइन्छरु थाहा पाउनुहोस् अनि त्यस्ता कामलाई धेरैभन्दा धेरै समय दिनुहोस्।’
पक्कै पनि यो सुरूवात हो। आफूलाई मन नपर्ने कुराहरूको सूचि लामो भए काममा खुशी रहन सकिँदैन। तर, यो अभ्यासले आफूलाई उत्साहित र उत्प्रेरित राख्न ध्यान र ऊर्जा कसरी केन्द्रित गर्ने भन्नेबारे एउटा रोडम्याप दिनेछ। आफूलाई मन नपर्ने र आफ्नो ‘खुबी’ नभएको काममा दक्ष हुने प्रयास गर्नुभन्दा, मुद्दालाई ‘रिफ्रेम’ गर्नुहोस् अर्थात नयाँ दृष्टिकोणले हेर्नुहोस्।
तपाईँंलाई ऊर्जा दिने र आफूले उत्कृष्ट नतिजा दिने धेरैभन्दा धेरै काम गर्नुहोस्। ती काम के हुन्, तपाईँलाई कसैले पनि भन्न सक्दैन। त्यस्ता कामहरू पत्ता लगाउनु आफैमा परिवर्तनकारी हुन सक्छ। ‘आफ्नो कामसँग प्रेम भए कस्तो हुन्छ भनेर आफैँले अनुभव नगरे, कसैले पनि बताउन र अनुभव गराउन सक्दैन,’ बकिङघमले भने,‘यो सधैं तपाईँको हातमा थियो। अरू कसैको हातमा हुनै सक्दैन।’