Kathmandu Press

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

झापा, फागुन २४ : काठमाडौँको सङ्कटा क्लब झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सङ्कटाले सेमिफाइनल यात्रा तय गरेको हो। आजको खेलको प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक रोहित कार्की घोषित भएका छन्। उनले नगद रु नौ हजार ९९९ पाएका छन्।

खेलपछि भएको पोस्ट म्याच कन्फरेन्समा थ्रीस्टारका प्रशिक्षक रवीन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए। विजयी टोली सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताउँदै सङ्कटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको जानकारी दिए।

सङ्कटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे। खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो। पहिलो हाफमा १–० को अग्रता बनाएको सङ्कटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे।

थ्रीस्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन। खेलमा थ्रीस्टारले पाएका अवसर सदुपयोग गर्न सकेन। खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए। खेलको ३६ औँ मिनेटमा सङ्कटाका सुवास गुरुङको कर्नरमा यानिकले गरेको हेडर बार नजिकैबाट बाहिरियो।

४६ औँ मिनेटमा थ्रीस्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे। खेलको ७० औँ मिनेटमा सङ्कटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे। ७५ औँ मिनेटमा थ्रीस्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए।

बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए। आयोजकले आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो। कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथि महिलामात्र थिए।

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्