देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, फागुन २४ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका-४ गुण्डीस्थित सडकमा बा.६ च ९४४७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ बर्षीय रामकेवल मल्लाहको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित सडकमा बा. २ ख ५१५५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने टेकेन्द्र कुँवरकी छोरी १६ वर्षीया स्वस्तीका कुँवरको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यता बाँकेको नेपालगंज उपमहानगरपालिका २० राझाँ चोकमा ड्युटीमा खटिएका अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार भुपेन्द्र शाहीको भे. १० प ४७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जना प्रहरी कर्मचारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै महोत्तरीको औरही नगरपालिका ४ कठुधारमा अनटेष्ट लेखिएको मोटरसाइकललाई प्र.२–०२–००१ च ०८४१ नम्बरको गाडीले सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक गौशाला नगरपालिका २ बस्ने २२ वर्षीय संजित मण्डल र मोटरसाइकलमा सवार सम्सी गाउँपालिका–१ पर्सा बस्ने १२ वर्षीय धिरज मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका २ स्थित सडकमा सु.प्र.प.०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु.७८ प ९६६१ नम्बरको मोटरसाइकल सोमबार राति ठक्कर खाँदा मोटरसाइकल चालक बुद्धभूमि ८ डुमरा बस्ने ४० वर्षीय गणेश आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपरा अस्पताल हुँदै एडभान्स सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












