Kathmandu Press

मकवानपुरका स्थानीय तहमा अस्पताल निर्माण कार्यले पायाे तीव्रता

मकवानपुर, फागुन २४ : मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको छ। यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा...
मकवानपुरका स्थानीय तहमा अस्पताल निर्माण कार्यले पायाे तीव्रता

मकवानपुर, फागुन २४ : मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडि बढेको छ। 

यसका लागि चार वटा स्थानीय तहमा जग्गा छनोट तथा बोलपत्र भई अस्पताल भवन निर्माण भइरहेको छ भने एक स्थानीय तहको जग्गा छनोट प्रक्रिया अगाडि बढेको छ। 

गत वर्ष मङ्सिर १५ गते देशभरिका ३९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएको अस्पताल निर्माण कार्यअन्तर्गत मकवानपुरका पाँच स्थानीय तहमा पनि यसको निर्माण कार्य सुरु भएको बताइएको छ।

Hardik ivf

इन्द्रसरोवर गाउँपालिकाबाहेक थाहानगरपालिका, राक्सिरागङ गाउँपालिका, मनहरि गाउँपालिका तथा कैलाश गाउँपालिकाले अस्पताल निर्माण कार्यलाई तीव्रता दिएको बताइएको छ।

थाहा नगरपालिकामा रु १२ करोड ५६ लाखको लागतमा थाहानगरको वडा ४ मा  १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। नगरप्रमुख लवशेर विष्टले जग्गा खोजी र डिपिआर बनाउनका लागि समय खर्च भएपनि विसं २०८० को वैशाख महिनासम्ममा  अस्पताल निर्माण भइसक्ने बताए।

मनहरि गाउँपालिका–७ मनहरि बजारमा जीर्ण अस्पताल रहेको र त्यसलाई भत्काएर सोही स्थानमा रु १० करोड १५ लाखको लागतमा १५ शय्याको अस्पताल निमार्ण कार्य सुरु भएको छ। अस्पतालको जीर्ण भवन भत्काएपछि अस्थायी भवन निमार्णमा पनि समय लागेको थियो। अहिले नयाँ अस्पताल भवन निर्माण कार्य सुरु भएको सो गाउँपालिकाले जनाएको छ।
 
त्यसैगरी राक्सिरागङ गाउँपालिका–५ स्थित ठाडेभिरमा अस्पताल निर्माण कार्य गरिरहेको सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। जिल्लाको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाले रु. ६ करोडको लागतमा १० शय्याको अस्पताल भवनको निर्माण कार्य अगाडि बढाएको बताउँदै उनले आगामी दुई वर्षभित्रमा त्यसको निमार्ण कार्य सम्पन्न हुने जानकारी दिए। 

यसैगरी जिल्लाको विकट क्षेत्र रहेको कैलाश गाउँपालिकाले पनि रु पाँच करोड ९२ लाखको ठेक्का सम्झौता गरी १० शय्याको अस्पताल भवन निर्माण कार्य सुरु गरेको जनाएको छ।

कैलाश गाउँपालिका–३ कालिटारमा निमार्ण भइरहेको सो अस्पतालका लागि गत जेठमा ठेक्का सम्झौता गरी गत असोजबाट अस्पताल भवन निर्माण कार्य भइरहेको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले बताए। 

यता इन्द्रसरोवर गाउँपालिकाले जग्गा अभावका कारण अहिलेसम्म अस्पताल भवनको निर्माण प्रक्रिया सुरु गर्न सकेको छैन।  इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याम नजिक नेपाल विद्युत् प्राधिकरणको ७ रोपनी जग्गा उपयुक्त देखिए पनि गाउँपालिकाको स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरिएको छ।

तर प्राधिकरणको ढिलाइले अस्पताल निर्माणमा समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताए। इन्द्रसरोवरमा रु. ८० लाखको लागतमा पाँच शय्याको अस्पताल निर्माण गर्ने योजना रहेको सो गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्