Kathmandu Press

एनआरएनएको अध्यक्षमा आचार्य र पन्त भिड्ने, दुवैको प्राथमिकतामा ‘भिजिट- २०२०’

काठमाडौं, असोज ८ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।

....
एनआरएनएको अध्यक्षमा आचार्य र पन्त भिड्ने, दुवैको प्राथमिकतामा ‘भिजिट- २०२०’

काठमाडौं, असोज ८ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनबाट आगामी असोज २८ देखि काठमाडौंमा हुँदैछ। एनआरएनएको विश्व सम्मेलनले दुई वर्षका लागि नेतृत्व चयन गर्ने भएकाले यसमा सहभागी/उम्मेदवार हुनेको जमघट राजधानीमा सुरु हुन थालेको छ।

नेपालीहरुको महान चाड दशैंसँगै एनआरएनएको सम्मेलन भएकाले पनि विश्वभरबाट नेपाल आउनेक्रम बढ्दो छ। उम्मेदवार हुन चाहनेहरु चुनावी अभियानमा सक्रिय छन्। एनआरएनएको विश्वका ७७ देशमा शाखा विस्तार भइसकेको छ। सम्मेलनमा दुई हजारभन्दा बढी सहभागी हुने अनुमान छ।

अध्यक्षमा उठ्ने घोषणा गरेका आचार्य र पन्त दुवै वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। कुल आचार्यले बेलायतलाई कर्मभूमि बनाएर व्यवसाय विस्तारमा लागेका छन् भने पन्त जर्मनीमा लामो समयदेखि व्यवसाय गर्दै आएका छन्। 

संघका उपाध्यक्ष रहेका आचार्यले बेलायतबाटै उम्मेदवारी घोषणा गरेका हुन्। आचार्यले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवर्द्धन कार्यक्रम बनाउन संघको तर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसीसीका अध्यक्षलाई नै पर्यटनदूत घोषणा गर्ने बताएका छन्। उनले  १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरिसकेका छन्। 

यस्तै, काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष पन्तले लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्र समेत सार्वजनिक गरेका थिए। 

पन्तले गैरआवासीय नेपाली संघको लगानीमा चलिरहेका परियोजनालाई चाँडो सम्पन्न गरी हस्तान्तरण गर्ने कार्यलाई उच्च प्राथमिकता दिने बताएका छन्। उनले भ्रमण वर्ष २०२० सफल बनाउन विश्वभरबाट पर्यटक नेपाल भित्र्याउने  एजेण्डालाई यो वर्ष मुख्य प्राथमिकतामा राख्ने समेत समेत बताएका छन्। 

आचार्यले पनि वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोब्बर बनाउने घोषणा गरेका छन्। 

एनआरएनए सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सञ्जाल बनाएर उनीहरुसँग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिबद्धता जनाए।

उनले एनआरएनएलाई सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारेका छन्। 
 

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, असोज ८, २०७६