उद्यमशिलता मार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
काठमाडौं, फागुन २३ : उद्यमशिलता मार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ११२ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल चेम्बर अफ....jpg)
काठमाडौं, फागुन २३ : उद्यमशिलता मार्फत महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
११२ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आर्थिक गतिविधिमा महिलाको पहुँच बढाएर अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।
आर्थिक विकासमा महिलाको सहभागिता वृद्धिका लागि उत्पादन देखि बजारीकरण सम्म राज्यले सहुलियत दिनुपर्ने मन्त्री रेग्मीले बताईन् । ग्रामीण महिलाहरुको जीवनस्तरमा सुधार नगरे सम्म महिला अधिकार सुनिश्चित गर्न नसकिने भन्दै मन्त्री रेग्मीले कृषि उत्पादन, माछापालान, कुखुरापालन एवं घरेलु तथा साना उद्योगमा बिना धितो ऋणको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
साना तथा घरेलु उद्योग एवं कृषिमा सहभागिता बढाउन एवं उद्यमशिलता विकासका लागि तालिमको व्यवस्था गर्न आगामी बर्ष १ अर्व रुपैयाँ बजेट बिनियोजन गर्न लागिएको मन्त्री रेग्मीले बताईन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्रका लागि महिला र पुरुष एक भएर लाग्नुपर्नेमा जोड दिए । साना उद्योगहरुलाई ग्रामिण क्षेत्र सम्मै विस्तार गर्नुपर्ने मल्लको भनाई छ । महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुलाई बजारीकरण गर्न नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने उनले बताए ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला अधिकार व्यवहारिक रुपमा अझैपनि सुनिश्चित हुन नसकेको बताईन् । आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा महिलाहरु आफ्नो अधिकारका लागि अझै पनि लडिरहनुपर्ने अवस्था कायमै रहेको उनको भनाइ थियो ।












