देवेन्द्र पौडेल भन्छन्- नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संगठन बन्ने कल्पना गर्न सकिन्न
काठमाडौं, असोज ८ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट ....
काठमाडौं, असोज ८ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संगठन हुने कल्पना पनि गर्न नसकिने बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पौडेलले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भ्रातृ संगठन भयो भनेर अनावश्यक हौवा नफैलाउन आग्रह गरेका हुन्। ‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होइन र हुने कल्पना पनि गर्न सकिँदैन। पञ्चशिल, असंलग्नता र राष्ट्रसंघको वडापत्रप्रति हामी प्रतिबद्ध छौं,’उनले भने।
पौडेलले सी चिनफिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्नका लागि कार्यक्रम गरिएको स्पष्ट पारे।
उनले विचारधारात्मक छलफलको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको टिप्पणी गरे।
उनले भने,‘साथीहरुले यो विषयमा यति धेरै हल्ला गरेर यस्तो मानसिकता बनाउनुहोला भन्ने लागेको थिएन। हामी तीन दिन छलफलमा सहभागी भयौं। विकास, संस्कृति र प्रविधिबारे धेरै कुरा सिक्ने अवसर मिल्यो। यो एकदमै राम्रो भयो।’
नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर हौवा र संकेत गर्नु नै गलत भएको उनको भनाइ छ।






