कुस्मामा बन्यो सिसैसिसाको ‘स्काइ ब्रिज’
पर्वत, फागुन २३ : सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ।कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोंचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज...
पर्वत, फागुन २३ : सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ।
कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोंचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज उद्घाटन गरे। कुस्मास्थित हार्नेस जिपलाइन प्रालीले टिकटक पारखीका लागि लक्ष्य गरेर मुलुकमै पहिलो पटक यस्तो पुल निर्माण गरेकोे कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए।
कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ। तल हेर्दा डर लाग्नाका साथै आनन्द पनि लिन सक्नेगरी पुल बनाइएको हो।
एकैपटकमा १०० जनासम्मले स्काइब्रिजको वारपार गर्न सक्ने उनको भनाइ थियो। पुल ३५ फिट लामो र ११ फिट चौडा छ। ‘हामीले नेपालका लागि पहिलो सिसाको पुल बनाएका हौं,’ उनले भने, ‘अहिले युवाको आकर्षण टिकटकमा भएका कारण यसले टिकटक बनाउन युवायुवतीलाई आकर्षण गर्ने विश्वास लिएका छौं।’
स्काइब्रिजमा पसेर नाच्न र गाउँन पनि सकिनेछ। अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविश्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको निर्देशक बस्नेतले बताए। स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ।
हार्नेस प्रालीले कुस्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ। आइतबारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको उहाँको भनाइ थियो। कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ।
अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ। पोखरा र अन्य ठाउँबाट पनि धेरै पर्यटकले जीपलाइनमा आउने इच्छा गर्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताए।
‘बन्जी, स्वीङलगायत साहसिक खेलभन्दा जीपलाइनमा केही कम डर हुने अनुभव जीपलाइनमा बगेकाले सुनाएका छन्। जिपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौं,’ उनले भने। जिपलाइनका लागि रु. ३ हजार ५०० शुल्क तोकिएको छ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइनको सुरुवाती गति प्रतिघण्टा १ सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। एक हजार ४८० मिटरको दूरी पार गरिसक्दा नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइन ल्यान्डिङ हुन्छ।












