Kathmandu Press

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

बागलुङमा विद्युतीय राहदानी वितरण सुरु

बागलुङ, फागुन २३ : बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ। जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो।

आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो। सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले बताए।

Hardik ivf

जिल्ला प्रशासनले माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको फाराम संकलन सुरु गरेको थियो । पासपोर्टको फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी पासपोर्ट जिल्लामा प्राप्त भएको प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए।

यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुने न्यूनतम एक महिनाको समय लाग्थ्यो। ई-पासपोर्ट १५ दिनमै तयार भएको छ। प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालयभित्र नै लिने गरेको छ। व्यक्तिगत विवरणका लागि व्यक्तिले अनलाइनमार्फत फाराम भर्नसक्ने प्रशासकीय अधिकृत विश्वकर्माको भनाइ छ।

सरकारले विद्युतीय राहदानी कार्यान्वयनका लागि गत मङ्सिर १ गतेदेखि एमआरपी फाराम संकलन बन्द गरेको थियो। एमआरपीको म्याद भएको समयसम्म सोही पासपोर्टको काम गर्छ। प्रशासनले दैनिक १० फाराम लिने गरेको छ। 

प्रकाशित मिति: १२:०६ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्