मेडिकल कलेजले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे आन्दोलन: डा. केसी
काठमाडौं, असोज ८ : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीले विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्न माग गरेका छ....
काठमाडौं, असोज ८ : त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसीले विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्न माग गरेका छन्।
बुधबार डा.केसीले प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीबाट असुलेको रकम फिर्ता गराउन सरकारसँग आग्रह गरेका छन्। ‘निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट अर्बौं रुपैयाँ अतिरिक्त रकम अवैध रुपमा असुलेको अवस्थामा त्यो रकम फिर्ता गराएर दोषी मेडिकल कलेजहरुलाई दण्डित गरिनुपर्छ,’ डा केसीले भनेका छन्।
मेडिकल कलेजहरुले अहिलेसम्म विद्यार्थीहरुबाट अवैध रुपमा असुलेको सबै अतिरिक्त रकम फिर्ता नभएसम्म आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण र काउन्सेलिङ लगायतका काम अघि नबढाउन केसीको माग छ।
उनले माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुसार मेडिकल कलेजको सिट र शुल्क निर्माण गर्न पनि आग्रह गरेका छन्। त्यस्तै, चिकित्सा शिक्षा ऐन संशोधन गर्न पनि आग्रह गरेका छन्।
योसँगै विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा दलीय भागवण्डा नभई योग्यता र वरिष्ठताका आधारमा नियुक्ति गर्न पनि डा.केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।
आफूसँग सरकारले गरेका सम्झौताअनुसार, माग पूरा नभए सत्याग्रहसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।






