Kathmandu Press

९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर

चितवन, फागुन २३ : भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ।सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि...
९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर

चितवन, फागुन २३ : भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ।

सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो। महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैयाँ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ।

Hardik ivf

सङ्घीय सरकारबाट ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ। रकम नपुग भएमा महानगरपालिकाले थप गर्नेछ। भूमिगत (अन्डरग्राउन्ड) पार्किङ हुने भवन १४ हजार १५२ वर्गमिटरको हुनेछ।

महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालेको जनाएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भवन ३० महिनाभित्र सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको जनकारी दिए।

भवनको भूमिगत तलामा ५०  कार र २५० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ। दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ।

भवनमा दुई  लिफ्ट हुनेछन्। ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई/दुई  बैठक कक्ष हुने उनको भनाइ छ। भवनमा १५८ सानाठूला कार्य कक्ष रहने छन् भने २२१ कोठा रहने छन्।

भवनका हरेक तलामा अपागमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको सुवेदीले जानकारी दिए। हाल महानगरमा तीन लाख ६९ हजार जनसङ्ख्या रहेको छ। (रासस)

प्रकाशित मिति: ०८:३८ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्