चेक बाउन्सका घटना किन बढ्दै छन् ?
ब्युरो स्थापना (०६८–७९) भएदेखि हालसम्म ‘आर्थिक अपराध’ घटनामा चार सय ३६ मुद्दा आएका छन् । जसमा ६ सय ४६ व्यक्ति पक्राउ परेको ब्युरोको तथ्यांक छ ।
काठमाडौं, फागुन २२ : नुवाकोट लिखु गाउँपालिका– ४ घर भई काठमाडौं बस्दै आएका एक व्यक्तिलाई उच्च अदालत पाटनले कात्तिक ७ गते बैंकिङ कसुरमा १५ दिनको कैद सजाय सुनाएको थियो । जाहेरवालाको मागदाबीसहित उनलाई ५१ लाख रुपैयाँ जरिवाना पनि तोकिएको थियो । बैंकिङ कसुरका फरार उनी यही ८ फागुनमा पक्राउ परे ।
उनले बैंक अफ काठमान्डु लिमिटेडमा रहेको आफ्नो खाताबाट कसैलाई चेक दिएका थिए । आफ्नो खातामा पर्याप्त रकम नभएको जानी–जानी जाहेरवालालाई झुक्याउन चेक दिएको अदालतको ठहर थियो ।
तनहुँ ब्यास नगरपालिका– ९ घर भई काठमाडौं महानगरपालिका– २६ बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक र सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका– १३ तीनकुने बस्ने एक व्यक्ति पनि चेक बाउन्सको मुद्दामा यही फागुन १ गते पक्राउ परे ।
उनीहरू दुवैलाई २४ मंसिर २०७८ मा उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा सजाय फैसला भएको थियो । उनीहरू दुवैलाई जाहेरवालाको मागदाबीसहितको ७२ लाख रुपैयाँ जरिवाना र २४ दिन कैद सजाय सुनाइएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार, यस आर्थिक वर्षमा देशभर बैंकिङ कसुरमा ४४ जनालाई पक्राउ गरिएको छ ।
आर्थिक अपराध र बैंकिङ कसुर
ब्युरो स्थापना (०६८–७९) भएदेखि हालसम्म ‘आर्थिक अपराध’ घटनामा चार सय ३६ मुद्दा आएका छन् । जसमा ६ सय ४६ व्यक्ति पक्राउ परेको ब्युरोको तथ्यांक छ ।
त्यस्तै, ब्युरोको तथ्यांक अनुसार, ‘बैंकिङ कसुर’ अन्तर्गत स्थापनाकालदेखि हालसम्म २६८ मुद्दा आएका छन् । जस अन्तर्गत दुई सय ३९ व्यक्ति पक्राउ परेका थिए । प्रवक्ता महतो भन्छन्, ‘अहिले बैंकिङ कसुरको मुद्दा अलि धेरै आउन थालेका छन्, सरकारले पीडितलाई उजुरी गर्ने सहज व्यवस्थापन भएकाले पनि उजुरी बढेको हुन सक्छ ।’
महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार, बैंकिङ कसुर विशुद्ध बैंकिङ कारोबारसँग जोडिएको वा सम्बन्धित हुन्छ । बैंकसँग जोडिएका मुद्दालाई बैंकिङ कसुरका रूपमा लिइन्छ । आर्थिक अपराध भन्नाले आर्थिक अर्थात् नगदसँग जोडिएको ठगी लगायतका मुद्दालाई बुझिन्छ । आर्थिक अपराधको ठूलो दायरा छ ।
चेक अनादर
बैंकिङ कसुर तथा सजाय ऐनको परिच्छेद २ मा बैंकिङ कसुरबारे उल्लेख छ । जसमा ‘आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिन दिन नहुने’ उल्लेख छ । बैंकिङ कसुर अन्तर्गत विविध अपराध पर्छन् । यसमध्ये एक हो, चेक बाउन्स (अनादर) । चेकमा उल्लिखित बराबरको रकम खातामा छैन तर कसैले चेक काटेको छ भने त्यस्तो चेक बाउन्स हुन सक्छ । चेक बाउन्स हुनलाई बैंकले चेक काटिएको तर सो बराबर रकम नभएको भनी लिखित रूपमा दिनुपर्छ ।
प्रवक्ता महतोका अनुसार, चेक बाउन्स (अनादर) को छुट्टै तथ्यांक ब्युरोसँग छैन । बैंकिङ कसुर सम्बन्धी मुद्दामा अदालतबाट फैसला भई सजाय तोकिएका व्यक्तिलाई आफूहरुले पक्राउ गर्ने उनी बताउँछन् ।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार, कुनै पनि व्यक्तिले आफ्नो खातामा रकम नभई ऋणीलाई झुक्याउन चेक दिएमा बैंकिङ कसुर लाग्छ । उनी भन्छन्, ‘तीनपटकसम्म चेक दिई चेकमा उल्लिखित रकम खातामा नभएमा बैंकिङ कसुर अन्तर्गत मुद्दा चलाउन सकिन्छ ।’
ऐनमा चेक अनादर सम्बन्धमा बिगो बमोजिम कैद सजाय हुने व्यवस्था छ ।
चेक अनादर किन गर्छन् ?
पूर्वअर्थ सचिव रामेश्वर खनाल चेक अनादरका घटना बढ्नुमा आर्थिक अभाव र आम मानिसमा कानुनका बारेमा जानकारी नहुनुलाई मुख्य कारण मान्छन् । ‘कोभिड १९ को प्रभावका कारण धेरै मानिस आर्थिक संकटमा छन् । कतिपयले भुक्तानी दिनुपर्ने व्यक्तिलाई चेक दिएर केही समय झुलाउन खोजेका पनि हुन सक्छन्,’ पूर्वअर्थसचिव खनाल भन्छन्, ‘त्यस्तै चेक अनादर हुँदा कानुनी कारबाही के कस्तो हुन सक्छ भन्ने जानकारी नहुँदा पनि यस्ता घटना बढेका हुन सक्छन् ।’
उनका अनुसार, बैंकिङ कसुर सजाय ऐन २०६४ आउनुअघि पनि चेक अनादरका घटना धेरै हुन्थे । पहिले चेक लिएर भुक्तानी लिन जाँदा साटिएन भने जोसँग रकम लिनुपर्ने हो उसैलाई गाली गर्ने, दबाब दिने गर्थे । अहिले भने मानिसले कानुनको सहारा लिन थालेका छन् ।
‘ऐन बनेको दुई वर्षजति त कार्यान्वयन हुनै समस्या देखियो । प्रहरीले यो बैंकको कुरा हो, बैंकले गर्छ भनेर ध्यान दिँदैनथ्यो,’ खनाल भन्छन्, ‘कानुन बनेको दुई वर्षपछि बैंकले प्रहरीलाई बोलाएर छलफल भएपछि बल्ल उनीहरूले बुझेका हुन् ।’
पछिल्ला तीन–चार वर्षमा चेक अनादरको घटनामा मानिसले कानुन अनुसार उजुरी गर्न थालेको खनाल बताउँछन् ।
समाजशास्त्री डा. गणेश गुरुङका अनुसार, पहिले नगदमा कारोबार बढी हुने तर पछिल्लो समय बैंकबाट कारोबार बढेसँगै चेक अनादरका घटना पनि बढेको हुन सक्छ ।












-(86)-1764936079.jpg)