कांग्रेस महोत्तरीको सभापतिमा यादव निर्वाचित
महोत्तरी, फागुन २२ : नेपाली कांग्रेसको महोत्तरी जिल्ला कार्यसमितिको सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन्।तीन जनाबीच भएको प्रतिस्पर्धामा दोस्रो हुनेले सुशीलकुमार यादवले समर्थन...
महोत्तरी, फागुन २२ : नेपाली कांग्रेसको महोत्तरी जिल्ला कार्यसमितिको सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन्।
तीन जनाबीच भएको प्रतिस्पर्धामा दोस्रो हुनेले सुशीलकुमार यादवले समर्थन जनाएपछि उनलाई निर्वाचित घोषणा गरिएको हो। उनले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेका थिए।
त्यस्तै, दोस्रो हुने सुशीलले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थिए।
कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ। पहिलो चरणमा कसैले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ।
तर, दोस्रो हुने व्यक्तिले सहमति जनाएपछि पहिलो भएका नागेश्वरलाई विजयी घोषणा गरिएको निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए।
कांग्रेसको १४औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो। मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए।
सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका छन्। यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार थिए।












