Kathmandu Press

अन्ना हजारेलाई डा. गोविन्द केसीको पत्र – ‘सत्याग्रह अजेय हुन्छ’

नेपालका सत्याग्रही डा. गोविन्द केसीले भारतका सत्याग्रही अन्ना हजारेको सत्याग्रहप्रति ऐक्ववद्धता जनाएका छन् । आफ्नो १६ औं अनशन तोडेको तीन दिनपछि डा.केसीले त्रिवि शिक्षण....

अन्ना हजारेलाई डा. गोविन्द केसीको पत्र – ‘सत्याग्रह अजेय हुन्छ’

नेपालका सत्याग्रही डा. गोविन्द केसीले भारतका सत्याग्रही अन्ना हजारेको सत्याग्रहप्रति ऐक्ववद्धता जनाएका छन् । आफ्नो १६ औं अनशन तोडेको तीन दिनपछि डा.केसीले त्रिवि शिक्षण अस्पतालको शैय्याबाटै हजारेलाई पत्र पठाउँदै भनेका छन् – ‘सत्याग्रह अजेय हुन्छ’ ।

पटक–पटक अनशन बसेर भारत सरकारलाई जन लोकपाल विधेयक पारित गर्न बाध्य पारेका हजारेबाटै प्रेरित भएर डा. केसीले पनि नेपालमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माग गर्दै पटक–पटक अनशन बसेका छन् । डा. केसीकै अनशनको दबाबमा संसद्ले गत साता चिकित्सा विधेयक पारित गर्‍याे, तर उनको मुख्य मागलाई तोडमोड गर्दै । डा. केसीलाई बेवास्ता गर्दै सत्ता पक्षले संसद्को दुबै सदनबाट विधेयक पारित गराएपछि नागरिक समाजका अगुवाहरूको अनुरोधमा उनले २४ दिनपछि १६ औं अनशन तोडे, तर संघर्ष जारी राख्ने घोषणा गरे । 

उता भारतमा हजारेकै दबाबमा जन लोकपाल बनेको छ, तर भारतीय सरकारले लोकपाल प्रमुख र सदस्यहरू नियुक्त गर्न चासो देखाएको छैन । यसकारण, भ्रष्टाचार मुद्दामा भारतीय प्रधानमन्त्री, मन्त्री र सांसदलाई समेत दण्डित गर्न सक्ने क्षमता भएको लोकपाल निष्प्रभावी बनेको छ । हजारेले गत साता लोकपाल प्रमुख र सदस्य नियुक्तिको माग राख्दै अनशन सुरु गरेका हुन् ।

हजारेलाई लेखेको पत्रमा डा. केसीले आफू पनि सत्याग्रहको शक्तिप्रति विश्वस्त रहेको बताएका छन् । हजारेको सत्याग्रहले भारतमा मात्रै नभई नेपालमा पनि धेरैलाई भ्रष्टाचार विरुद्ध लड्न प्रेरित गर्ने डा. केसीले बताएका छन् ।  

पत्रमा डा. केसीले हजारेलाई आफ्नो पछिल्लो अनशनको माग र त्यसप्रति सरकारले देखाएको उदासीनताबारे जानकारी दिँदै भनेका छन्, “मेरो १६ औं अनशनले जवाफदेहिता विहीन र शक्तिको भोको सरकारले सत्यको आवाज र अन्तस्करणको पुकाँर सुन्दैन भन्ने छर्लङ्ग पारेको छ ।”

डा. केसीको पत्रका उनका समर्थक चिकित्सकहरूले हजारेका सहयोगीहरु मार्फत् हजारेलाई हजारेलाई हस्तान्तरण गरेका छन् । 
 

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, माघ २१, २०७५