Kathmandu Press

प्रथम मेयर कप क्रिकेटमा नवलपुरको विजयी सुरुआत

प्रथम मेयर कप क्रिकेटमा नवलपुरको विजयी सुरुआत

नवलपुर, फागुन २१ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘प्रथम राष्ट्रिय गैँडाकोट मेयर कप टी–२० क्रिकेट प्रतियोगिता’मा नवलपुर क्रिकेट क्लब विजयी भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर क्रिकेट क्लब बागलुङ क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै विजयी भएको हो। टस जितेर सुरुआती ब्याटिङ रोजेको नवलपुरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सफल भयो। नवलपुरको जितका लागि ब्याट्सम्यान कमल परियारले २१ बलमा एक छक्का र चार चौकाको सहायतामा ४८ रन बनाए।

त्यस्तै नवलपुरका दीपक डुम्रेले २३ रनको योगदान दिएका थियो भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। बलिङतर्फ बाग्लुङका जगतबहादुर छन्त्यालले तीन ओभरमा २५ रन खर्चिदै पाँच विकेट लिएको आयोजक नवजागर ग्रामीण विकास केन्द्रका सचिव नारायण सापकोटाले जानकारी दिए।

एक सय ३५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बागलुङ १५ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमै समेटिन पुग्यो। बलिङतर्फ नवलपुर क्रिकेट क्लबका कमल परियारले तीन विकेट लिए। आजको खेलमा नवलपुर क्रिकेट टिमका अलराउण्डर खेलाडी कमल परियार म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगितामा नवलपुर, बागलुङ, पर्वत, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले नगद रु दुई लाखसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख ५० हजारसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ। सो प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत नगदसहित कप, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने सापकोटाले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेल स्वास्थ्यका लागि महत्वपूर्ण भएको भन्दै गाउँगाउँमा खेलकुदको विकास हुनुपर्ने बताए। खेलकुदको विकासका लागि नगरपालिकाले सक्दो काम गरिरहेको भन्दै उनले हरेक वडामा खेलमैदानका साथै गैँडाकोटमा राष्ट्रिय र क्षेत्रीय खेलकुद रङ्गशाला निर्माणको काम अघि बढेको बताए। खेलकुदकै माध्यमबाट खेलाडीले राष्ट्र र आफ्नो नाम उँचो राख्ने गरेका भन्दै नगरप्रमुख पौडेलले खेलाडीले खेलेर बाँच्न सक्ने वातावरण सिर्जना गर्न राज्य लाग्नुपर्ने बताए।

प्रकाशित मिति: १८:४९ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्