परराष्ट्रमन्त्री ज्ञवाली जनरल डिबेटमा सहभागी
न्यूयोर्क, असोज ८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स....

न्यूयोर्क, असोज ८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्।
त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गरेका थिए। प्रतिरोधात्मक कूटनीति, दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग, अन्तरराष्ट्रिय कानूनको परिपालना तथा मानवअधिकारको प्रवद्र्धनमा जोड दिँदै उनीहरुले बहुपक्षीयतावादलाई सुदृढ तुल्याउनुपर्ने बताए।
महासभामा १८८ देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख र सदस्य मुलुकका प्रतिनिधिमण्डलका प्रमुख यही असोज १३ गतेसम्म हुने उच्चस्तरीय बैठकहरुमा सहभागी हुनेछन्। महासभामा मन्त्री ज्ञवालीले असोज १० गते सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि असोज १३ गते नेपालले महासभामा सम्बोधन गर्ने कार्यक्रम निर्धारण गरिएको थियो।
मन्त्री ज्ञवाली दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा पनि सहभागी भए। दिगो विकासका लक्ष्य हासिल गर्ने सन्दर्भमा हालसम्म भएका प्रगति, कार्यान्वयनको समीक्षा र चुनौतीबारे बैठकमा गहन छलफल भएको थियो। राष्ट्र–राष्ट्रबीच सहकार्य र साझेदारीको माध्यमबाट नै दिगो विकासका लक्ष्य हासिल गर्न सम्भव हुनेमा सबै सहभागीको मतैक्यता थियो।
गत भदौ ३१ गतेदेखि प्रारम्भ भएको ७४औँ महासभा बैठकको शीर्षक ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको छ।
यसैबीच मन्त्री ज्ञवाली महासचिव गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनुभयो भने संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी धर्मपत्नी मेलिना ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभगी भएका थिए। रासस











