चाँगुनारायण नगरपालिका र लर्डबुद्ध फाउन्डेनबीच सूचना प्रविधिमा छात्रवृत्तिकाे सम्झौता
चाँगुनारायण नगरपालिका र लर्ड बुद्ध ऐजुकेसन फाउण्डेशनबीच नगरपालिकाका विद्यार्थीलाई दक्ष प्राविधिक बनाउन पूर्ण छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।नगरपालिकामा नगर प्रमुख...
भक्तपुर, फागुन २१ : चाँगुनारायण नगरपालिका र लर्ड बुद्ध ऐजुकेसन फाउण्डेशनबीच नगरपालिकाका विद्यार्थीलाई दक्ष प्राविधिक बनाउन पूर्ण छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नगरपालिकामा नगर प्रमुख सोमप्रसाद मिश्र र फाउण्डेशनका अध्यक्ष पंकज जलानले सम्झौतापत्रमा हस्ताक्षर गरी कम्तीमा पाँच वर्षका लागि र आवश्यकता अनुसार सम्झौता थप गर्दै लैजाने शर्तसहितको सम्झौतापत्र आदानप्रदान गर्नुभएको छ।
सम्झौताअनुसार अब एशियन प्यासिफिक युनिभर्सिटीको बिएसस्सी सूचना प्रविधि विषयको प्रत्येक नयाँ शैक्षिक सत्रमा नगरपालिकाबाट छनोटमा परेका कम्तीमा तीन विद्यार्थीलाई पूर्ण, कम्तीमा चार विद्यार्थीलाई ५० प्रतिशत र कम्तीमा पाँच विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने सहमति भएको नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिए।
नगरपालिकाले आफ्नो नगर क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी डिजिटल चाँगुनारायण निर्माणमा सहकार्य गर्न, स्वदेशमा उत्पादित दक्ष जनशक्तिलाई स्थानीय सेवामा पहुँच पु¥याउन र न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीलाई उच्च प्राविधिक शिक्षामा पहुँच वृद्धि गर्न समझदारी गरिएको नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिए।
नेपालको शैक्षिक क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा स्थापित फाउण्डेशनले सञ्चालन गरिरहेको एलबीइएफ क्याम्पस नेपालको पहिलो सूचना प्रविधि कलेज भएको र शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरी विगत २३ वर्षदेखि नेपालको विभिन्न स्थानमा, विभिन्न विश्व विद्यालयको सम्बनधमा स्नातक एवं स्नातकोत्तर तहको विषयको अध्यापन गराउदैँ आएको फाउण्डेशनका अध्यक्ष जालनले जानकारी दिए।
नगरपालिका र कलेजबीचको समझदारीसँगै नगरपालिकाको समन्वयमा नगरपालिका क्षेत्र एवं आसपासका स्थानीय तहमा अध्ययनरत कम्तीमा ५० विद्यार्थीलाई हरेक आर्थिक वर्ष कम्तीमा एक सीप विकास तथा क्षमता अभिवृद्धि तालिममासमेत सहभागी गराउँदै उक्त कलेजमा पठाइने भएको छ।












