Kathmandu Press

कालगण्डकी किनारको अतिक्रमण हटाउने तयारी

कालगण्डकी किनारको अतिक्रमण हटाउने तयारी

म्याग्दी, फागुन २१ : म्याग्दी सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्ने तयारी थालिएको छ।

बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो। कालीगण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रबार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन गरेको थियो।

Hardik ivf

उक्त जग्गा नापी कार्यालयका प्राविधिकको सहयोगमा सार्वजनिक छुट्याइएको नगरपालिका प्रवक्ता एवं वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए। साँध सिमानामा रहेका ६ जनाले सार्वजनिक जग्गा ओगटेको भेटिएको उनको भनाइ छ।

सार्वजनिक जग्गा अतिक्रमण गरेका घरधनीलाई पत्र काटेर र जानकारी गराएर फिर्ता गर्न ताकेता गरिएको वडा कार्यालयले जनाएको छ। नदीको किनारमा रहेको सार्वजनिक जग्गामा बालउद्यानसँगै कालीपुल बसपार्कमा पुग्ने पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष बराइलीले जानकारी दिए।

सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ। अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाए पनि राजनीतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिले अटेरी गरिरहेका छन्। (रासस)

प्रकाशित मिति: ०८:०५ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्