डीडीसीका तत्कालीन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं, असोज ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जनाविरुद्ध भ्रष्टाचा....
काठमाडौं, असोज ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।
काठमाडौं उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का बोलपत्र नै प्रकाशन नगरेर सम्झौता गरेको पाइएपछि अख्तियारले महाप्रबन्धक तिमल्सिनासहित १० जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
संस्थानलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको भन्ने उजुरीमाथि छानबिन गरी उनीहरुविरुद्ध अख्यितारलले भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
तत्कालीन महाप्रबन्धक तिमल्सिनाविरुद्ध ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए।
यस्तै, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा ईश्वरीप्रसाद अधिकारी, तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकीय अधिकृत हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध पनि समान ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग गरिएको छ।
गोकुल निर्माण सेवा, गोलढुङ्गा–६, काठमाडौंका सञ्चालक गोकुल फुयाँलविरुद्ध २२ लाख १९ हजार ६६८, साविक प्रभु आदित्य बिजनेस प्रालिका सञ्चालक दीपबहादुर खड्का, सोही कम्पनीका अर्का सञ्चालक फणिन्द्रप्रसाद दाहाल र तत्कालीन सञ्चालक सतीशकुमार गिरीविरुद्ध जनही २४ लाख ५९ हजार ५१४ रुपैयाँ बिगो माग गरिएको छ।






