दशैंको मुखमा आयात घट्यो, अर्थतन्त्रमा संकुचन आउने संकेत
काठमाडौं, असोज ७ : भारतीय अर्थतन्त्रमा मन्दी लागिरहेका बेला नेपालमा पनि राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्रमा संकुचन आउन सक्ने संकेत गरेको ....
काठमाडौं, असोज ७ : भारतीय अर्थतन्त्रमा मन्दी लागिरहेका बेला नेपालमा पनि राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्रमा संकुचन आउन सक्ने संकेत गरेको छ।
चाडवाडको मुख्य सिजनमा आयात ह्वात्तै घट्नुले अर्थतन्त्रमा मन्दीको संकेत गरेको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकले अर्थतन्त्रमा मन्दी आउन सक्ने देखाएको हो।
आर्थिक वर्ष २०७६-७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर १ खर्ब ६ अर्ब ७३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो आयात ५४.३ प्रतिशतले बढेको थियो। मुलुकको अर्थतन्त्रमा आयात घट्नुलाई सकारात्मक मानिएपनि चाडवाडको समयमा आयातमा ह्वात्तै घट्नुले मुलुकमा खर्च गर्ने क्रयशक्ति नभएको संकेत गर्दछ।
दशैंको मुखमा पनि व्यापार नभएको व्यवसायिक क्षेत्रले गुनासो गरिरहेका समयमा आयात पनि घट्नु गम्भीर संकेत हुन सक्ने आंकलन गरिएको छ। आन्तरिक उत्पादन नबढेका बेला खपत हुने मुख्य सिजन चाडवाडमा आयात घट्नुले अर्थतन्त्रमा संकुचन आउन सक्ने संकेत गर्दछ।
राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले घटेर ९७ अर्ब ८९ करोड कायम भएको छ। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७६-७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो।
चालु खाता घाटा ९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ अर्ब १६ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८ करोड ४० लाखले घाटामा रहेको छ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड रुपैयाँ घाटामा रहेको थियो।
आर्थिक वर्ष २०७६-७७ को पहिलो महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति ७६ अर्ब ९७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ५७ अर्ब ५४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २.० प्रतिशतले वृद्धि भई ७५ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २४.० प्रतिशतले बढेको थियो।
नेप्सेमा झिनो सुधार
२०७५ साउन मसान्तमा १२१०.३ विन्दुमा रहेको नेप्से सूचांक १.१ प्रतिशतले वृद्धि भई २०७६ साउन मसान्तमा १२२४.० विन्दुमा कायम भएको छ। २०७६ असार मसान्तमा यस्तो सूचांक १२५९.० रहेको थियो।
धितोपत्र बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा ७.७ प्रतिशतले वृद्घि भई २०७६ साउन मसान्तमा १५ खर्ब ५१ अर्ब ६० करोड कायम भएको छ। २०७६ असार मसान्तमा बजार पूँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।






