एमसिसी सम्झौताविरुद्ध फागुन २३ गते विरोधसभा

काठमाडाैं, फागुन १९ : अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत् विरोधसभा गर्ने भएको छ।
आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसिसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोधसभामा सहभागी हुन आव्हान गरेको छ।
संयुक्त जनआन्दोलनले एमसिसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ। पत्रकार सम्मेलनमा नेकपा मालेका नेता सिपी मैनालीले एमसीसी जनताको पक्षबाट असफल भएपनि संसदबाट स्वीकृत भएकोमा आपत्ति जनाए।
अमेरिकाले कुनै पनि हालतमा एमसिसी सम्झौता संशोधन गर्न मन्जुर नभएको पटकपटक जानकारी दिँदै आएको र व्याख्यात्मक टिप्पणीको अन्तराष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा हाल्ने छारो मात्र भएको मैनालीले जिकिर गरे।
संसदबाट पास गरेको व्याख्यात्मक घोषणापत्रलाई नेता मैनालीले कथित व्याख्यात्मक घोषणाको संज्ञा दिए।
त्यस्तै उनले व्याख्यात्मक घोषणासहित संसदबाट जनताले विरोध गर्दागर्दै पनि पारित गरिएको आरोप लगाए। स्वस्थ र सैद्धान्तिक ढंगले संसदबाट एमसीसी पारित नगरिएको उनको भनाइ छ।












