स्याङ्जाको आँधीखोलामा फूलबारी-पूवाडाँडा सडक कालोपत्रे
स्याङ्जा, फागुन १९ : स्याङ्जाको आँधीखोला गाउँपालिका-३ स्थित फूलबारी-पुवाडाँडा सडक कालोपत्रे गरिएको छ।गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा ३...
स्याङ्जा, फागुन १९ : स्याङ्जाको आँधीखोला गाउँपालिका-३ स्थित फूलबारी-पुवाडाँडा सडक कालोपत्रे गरिएको छ।
गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा ३ सम्म पुग्ने सडक कालोपत्र गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए।
‘स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य, पुशपक्षीजन्य उत्पादनको बजारीकरणका साथै मानिसलाई आवातजावतमा पनि सहजता पुग्ने गरी सडक कालोपत्र गरेका हौं,’ उनले भने, ‘ग्रामीण भेगलाई बजारसँग र बजारलाई ग्रामीण भेगसँग जोडी सामाजिक तथा आर्थिक विकासमा यस सडकले महत्वपूर्ण भूमिका खेल्ने छ।’
डेढ वर्षअघि रु. ४ करोड ९९ लाख ९८ हजारको लागत अनुमानमा बोलपत्र आह्वान गरिएकोमा रु. ४ करोड ३१ लाखमा गीता र क्रिएटिभ जेभी स्याङ्जाले सडक निर्माण सम्पन्न गरेको हो।
ठेक्का सम्झौताअनुसार पक्की नाली, ट्राफिक संकेत र पेन्टिङसहित २।७ किलोमिटर सडक निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको रु. एक करोड, संघीय सांसद विकास कोषबाट रु. ५० लाख र बाँकी गाउँपालिकाको लागत साझेदारीमा उक्त सडक निर्माण सम्पन्न भएको अध्यक्ष पौडेलले जानकारी दिए।
पाँच मिटर चौडाइ रहेको उक्त सडक निर्माण कम्पनीले निर्धारित समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो।












