काठमाडौं रेजर्सकाे मुख्य प्रशिक्षकमा बाल गोलपाल र मार्की खेलाडीमा विकेशकाे निरन्तरता
ललितपुर, फागुन १९ : नेपाल सुपर लिग (एनएसएल) को साबिक विजेता टिम काठमाडौं रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।बिहीबार ललितपुरमा...
ललितपुर, फागुन १९ : नेपाल सुपर लिग (एनएसएल) को साबिक विजेता टिम काठमाडौं रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौंले एनएसएलको दोस्रो संस्करणका लागि बाल गोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो।
यस्तै काठमाडौंले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीका रुपमा सम्झौता नवीकरण गरेको छ। पहिलो संस्करणको उपाधि काठमाडौंले जित्दा विकेश मार्की खेलाडी नै थिए। त्यतिखेर प्रशिक्षकमा बालगोपाल नै थिए। पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधि जित्ने लक्ष्यका साथ तयारी गर्ने बताए।
त्यस्तै मार्की खेलाडी विकेश कुथुले यसपटक पनि आफ्नो टिमले नै उपाधि रक्षा गर्न सम्पूर्ण शक्ति लगाउने बताए।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ सम्म आयोजना हुनेछ। दोस्रो संस्करणको प्रतियोगिता दुई सहरमा आयोजना हुनेछ। प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ। पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो भने उपाधि काठमाडौं रेजर्सले नै जितेको थियो।
प्रतियोगितामा यसपटक १० टिमकाे सहभागिता रहनेछ।











