Kathmandu Press

चितवनका सात सरकारी विद्यालयलाई स्कुल बस

चितवनका सात सरकारी विद्यालयलाई स्कुल बस
फाइल तस्बिर
Hardik ivf

चितवन, फागुन १९ : भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ। गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ ।
 
महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । ती दुई विद्यालयलाई रु १७ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइँदै छ ।
 
ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी माविलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको थियो । ती विद्यालयलाई रु १६ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको र बाँकी केही रकम निकासा दिन बाँकी रहेको पौडेलले जानकारी दिए।
    
महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ठूलो लगानी गर्दै आएको बताए। उनले विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको बताए। उनले भने, ‘हामीले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन थालेको छ, यसको प्रतिफलस्वरुप सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या निकै बढेको छ।’ विद्यालयसम्म विद्यार्थीलाई सहज आवतजावतका लागि बस उपलब्ध गराउने नीति महानगरले लिएको उनको भनाइ छ ।
 
उपप्रमुख पार्वती शाहले यातायातको अभावमा कोही पनि शिक्षाबाट वञ्चित नहोस् भन्नका लागि महानगरले बस उपलब्ध गराउँदै आएको बताइन्। उनले आवश्यकता अनुसार थप विद्यालयलाई बस उपलब्ध गराइँदै जाने पनि बताइन्। 

प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्