गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी
काठमाडौं, असोज ७ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेदवार बन्ने भएका छन्। अहिले उपाध्यक्ष रहेका आचार्यले आज लन्डनमा पत्रकार....

काठमाडौं, असोज ७ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेदवार बन्ने भएका छन्। अहिले उपाध्यक्ष रहेका आचार्यले आज लन्डनमा पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गर्न लागेका छन्।
उम्मेदवारी घोषणासँगै उनले नौ बुद्धे एजेन्डा पनि सार्वजनिक गर्नेछन्। अध्यक्षमा उम्मेदवारीको घोषणा लन्डनमा र आफ्ना एजेन्डा काठमाडौंमा सार्वजनिक गर्ने जनाएको छ। त्यसका लागि अर्को साता काठमाडौंमा कार्यक्रम आयोजना गर्ने भएका छन्।
उनको एजेन्डामा नेपालको आर्थिक विकास र समृद्धिमा विशेष योजदान गर्ने दृष्टिकोणसहितको नीति र कार्ययोजना प्रस्तुत गरिने भएको छ। त्यसको तयारी भइरहेको बताउदै उनले भने, ‘मातृभूमिको समृद्धिको राष्ट्रिय अभियानसँग विश्वभरि रहेका नेपालीलाई जोड्नु छ, त्यसैले हामीले नेपालको विकास र नेपाली मूल्य–मान्यता, भाषा र संस्कृतिको प्रवद्र्धनका लागि विशेष योगदान गर्ने घडी आएको छ।’
संविधानको मर्म अनुसार गैरआवासीय नागरिकता जारी गर्न निर्णायक पहल गर्ने जनाउदै ‘एक पटकका नेपाली सधैँका नेपाली’ भन्ने भावनालाई प्रतिनिधित्व गर्दै टुंग्याइनु पर्ने बताए। वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एनआरएनएमार्फत लाग्ने उनले जनाएका छन्।
‘गैरआवासीय नेपालीबारे जानकारी संकलन गर्ने, कुनै समस्या भएमा तत्काल एक्सनमा जाने र त्यसको समाधान गर्ने तथा केन्द्रीय सचिवालयलाई अझै प्रभावकारी बनाउनै पर्छ,’ उनले भने, ‘मैले यस विषयमा विस्तृत कार्यक्रम निर्माण गरेको छु।’
पूर्वअध्यक्ष शेष घलेले पनि लन्डन पुगेर आचार्यसँग छलफल गरेको जनाएको छ। त्यस्तै, आचार्यले पूर्वअध्यक्ष देवमान हिराचन र वतर्मान अध्यक्ष भवन भट्टसँग पनि आगामी विश्व सम्मेलनका विषयमा छलफल गरेका छन्।











