जसले चितवनको गुन्द्रुक–सिन्की अस्ट्रेलियादेखि अमेरिकासम्म पठाउँछिन्
अहिले उनले वार्षिक १७–१८ लाख रुपैयाँ बराबरको कारोबार गर्छिन् । ‘नाफा त त्यस्तै दुई–तीन लाख रुपैयाँ मात्रै बस्छ,’ अम्बिका भन्छिन्, ‘मसँग सय रुपैयाँदेखिका पोका छन् । मानिसलाई जति चाहिन्छ, त्यति लैजान्छन् ।’
काठमाडौं, फागुन १९ : आँगनभरि रायोको साग सुकाइएको थियो । ६१ वर्षीया अम्बिका धिताल सागका सुकेका पातलाई पल्टाउँदै थिइन् ।
भरतपुर महानगरपालिका वडा– १० हाकिम चोकस्थित धितालकै घरको दृश्य हो । झट्ट हेर्दा उनले घरायसी प्रयोजनकै लागि साग सुकाएको जस्तो देखिन्थ्यो । तर, त्यस्तो होइन रहेछ, अम्बिकाले यो सागबाट गुन्द्रुक बनाउँछिन् र बिक्रीका लागि अस्ट्रेलिया, बेलायत लगायत देश पठाउँछिन् । सहरमा काम विशेषले बस्ने आफन्तलाई गाउँबाट केही छाक गुन्द्रुक लगायत स्थानीय उत्पादन पठाएको त हाम्रा लागि नौलो होइन । अम्बिकाले अस्ट्रेलिया, बेलायत पठाउँछिन् ? यो कसरी सम्भव भयो ?
छोराबुहारीलाई भेट्न अस्ट्रेलिया जाँदा
०७१ सालमा अम्बिका अस्ट्रेलिया पुगेकी थिइन्, छोराबुहारीलाई भेट्न । त्यहाँ एक वर्ष बस्दा उनले आफ्नो देशको उत्पादनको पनि बजारको सम्भावना देखिन् । भएको के थियो भने, उनी बसेको नजिकै विभिन्न देशका स्थानीय उत्पादन पाइन्थ्यो । अस्ट्रेलिया बस्ने चीनका मानिसले चीनकै स्थानीय उत्पादन किन्न सक्थे, भारतका मानिस भारतकै स्थानीय उत्पादन किन्थे । तर, नेपाली उत्पादन त्यहाँको बजारमा थिएन । ‘सबै देशका स्थानीय खानेकुरा त्यहाँ थिए । तर, हाम्रै देशको देखिनँ,’ अम्बिका भन्छिन्, ‘मैले सोचेँ— नेपाल गएर केही चिज पठाउन पाए त व्यापार पनि हुने, हाम्रा खानेकुराको प्रचार पनि हुने ।’
अम्बिकाले गुन्द्रुक, मस्यौरा, मुलाको सिन्की बनाउन र पठाउन सक्ने सोचिसकेकी थिइन् । उनले यी खानेकुरा सानैदेखि खाँदै र बनाउँदै हुर्केकी हुन् । तर विदेश पठाउने भनेपछि सरकारी निकायमा दर्ता भएको उद्योग आवश्यक हुन्थ्यो । उनले ०७५ मा ‘मान्द्रो नेपाल’ नामको उद्योग दर्ता गरिन् । जसबाट उत्पादित आफ्ना उत्पादन उनले अहिले अस्ट्रेलिया, बेलायत, जापान, अमेरिका लगायत युरोपेली मुलुक मुलुकसम्म पठाउँछिन् । ‘घरमै उत्पादित कृषि उपजबाट गुन्द्रुक, मस्यौरा र मुलाको सिन्की बनाउन सुरु गरेँ,’ अम्बिका भन्छिन्, ‘आवश्यक सबै चिज घरमै भएकाले समस्या भएन ।’
.jpg)
सुरुवाती बेला उनले तीनै चिज गरी वार्षिक एकदेखि दुई क्विन्टलसम्म उत्पादन गर्थिन् । अहिले वार्षिक २० क्विन्टलजति उत्पादन गर्छिन् । सबै उत्पादन विदेश पठाउने भने होइन, केही त स्थानीय बजारमा पनि जान्छ । विदेशमा सामान पठाउन उनलाई त्यति सहज पनि छैन । ‘अन्तर्राष्ट्रिय कार्ड चाहिँदो रैछ, त्यो मसँग छैन, त्यसैले सम्पर्कमा आएका मानिससँग मात्र पठाउँछु,’ अम्बिकाले भनिन्, ‘एकपटक लगेका ग्राहक फर्की–फर्की लिन आउँछन् । यहाँभन्दा धेरै विदेश जानेले लैजान्छन्, यहाँ पनि घरेलु उत्पादनका सामान बेच्ने एक–दुई पसलले लिन्छन् । काठमाडौंतिर बस्नेले पनि लैजान्छन्।’
कसरी बन्छ ?
अम्बिकाले विशेषतः तीन थरीका भान्साका परिकार बनाउँछिन्– मस्यौरा, सिन्की र गुन्द्रुक।
यसका लागि उनलाई साग, पिँडालु, मास, कर्कलाको डाँठ आवश्यक हुन्छ । सुरुमा घरकै उपजले पुगे पनि अहिले धेरै उत्पादन गर्ने हुँदा यी कच्चा पदार्थ खरिद उनले स्थानीय बजारबाट खरिद गर्छिन् । त्यसो त ६ कट्ठा जमिनमा उनले कर्कलो लगाएकी छन्।
ठीक यति बेलाको भाउ भन्नुपर्दा, उनले १५ रुपैयाँदेखि २० रुपैयाँ केजीमा साग किन्छिन् । पिँडालु प्रतिकेजी ६० रुपैयाँमा र प्रतिकेजी मास एक सय ३५ रुपैयाँमा खरिद गर्छिन्।
गुन्द्रुक बनाउनका लागि सागलाई सुकाउँछिन् र माटोको भाँडोमा राखेर तीन साता गुम्साउँछिन् । ‘गुम्साउँदा पनि हरेकजसो मनतातो पानी हाल्नुपर्छ,’ अम्बिका भन्छिन्, ‘तीन सातामा निकालेर घाममा सुकाएरपछि गुन्द्रुक तयार भइहाल्छ।’
मस्यौरा भने उनले दुई किसिमले बनाउँछिन् । कर्कलाको डाँठ र मासबाट मात्रै पनि मस्यौरा बन्छ । अर्काे, पिँडालु र मास मिसाएर पनि बनाउन सकिन्छ । पिँडालुलाई तास्न र कर्कलोलाई केलाउन भने समय लाग्ने उनी बताउँछिन्।
त्यसैले उनले मस्यौरा बनाउने बेला ६–७ स्थानीय महिलालाई ज्याला दिएर बोलाउँछिन्।
अहिले उनले कर्कलो काट्ने, मस्यौरा सुकाउने मेसिन पनि किनेकी छन् । ‘मस्यौरा उत्पादन गर्न प्रयोग गरिने मेसिनमा लगानी बढाएकी छु,’ उनले भनिन्, ‘मस्यौरा सुकाउने इलेक्ट्रिक ड्रायर र सोलार ड्रायर गत वर्ष किनेकी हुँ ।’
वार्षिक तीन लाख आम्दानी
गत वर्ष उनले ६–७ क्विन्टल गुन्दुक, सिन्की र मस्यौरा फाल्नुपर्याे, कोभिडका कारण । लकडाउन भई मानिसहरु विदेश जान रोकिए, यता उनको उत्पादनको निर्यात पनि रोकियो । लामो समय राख्दा ढुसी लाग्ने, कीरा पर्ने भएकाले उनले आफ्नो उत्पादन फाल्नुपर्याे ।
.jpg)
अहिले उनले वार्षिक १७–१८ लाख रुपैयाँ बराबरको कारोबार गर्छिन् । ‘नाफा त त्यस्तै दुई–तीन लाख रुपैयाँ मात्रै बस्छ,’ अम्बिका भन्छिन्, ‘मसँग सय रुपैयाँदेखिका पोका छन् । मानिसलाई जति चाहिन्छ, त्यति लैजान्छन् ।’
बुढेसकालको साथी
अम्बिका अहिले श्रीमान (ध्रुव धिताल)सँग बस्छिन् । उनीहरुका एक छोरा र एक छोरी मात्रै हुन् । यतिखेर उनका छोराबुहारी अस्ट्रेलिया छन् भने छोरी–ज्वाइँ लन्डनमा । उनलाई छोराछोरीले विदेशमै बस्न र दुःख नगर्न भनेका छन् । तर, उनलाई आफ्नै गाउँठाउँ प्यारो लाग्छ । अझ आफ्नो माटोसँग जोडिएका उत्पादन बनाउँदा उनी खुसी छन् ।
‘ढल्किँदो उमेरमा काम सहयात्री बनेको छ, भारी बोक्न सक्दिनँ । घरमा बसेर भान्साको परिकार बनाउन सजिलो लाग्छ,’ उनी भन्छिन्, ‘हात खालि छैन, त्यसैले पैसाको पनि दुःख छैन ।’
नेपालमा उत्पादित घरेलु उत्पादनको माग विदेशमा भए पनि निर्यातमा समस्या भएको उनको अनुभव छ । ‘यसमा सरकारले सहज बनाइदिए हुने,’ उनी भन्छन्, ‘सरकारले अन्तर्राष्ट्रिय बजार व्यवस्थापन नगरिदिँदा निर्यातमा बिचौलियाले फाइदा लिइरहेका छन्।’
तनहुँमा जन्मिएकी अम्बिकाको १७ वर्षको उमेरमा भरतपुरका ध्रुवसँग मागीविवाह भएको हो । विवाहपछि उनले २०३८ सालमा आइए उत्तीर्ण गरिन् । उनले फेसन डिजाइनिङ, नर्सरीसँगै टेलरिङको पनि अनुभव सँगालेकी छिन्।












-(86)-1764936079.jpg)