नेकपा र सीपीसीबीच सहयोग आदानप्रदान सम्झौता
काठमाडौं, असाेज ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सहयोग आदानप्रदानसम्बन्धी औपचारिक सम्झौता हुने भएको छ....

काठमाडौं, असाेज ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सहयोग आदानप्रदानसम्बन्धी औपचारिक सम्झौता हुने भएको छ ।
दुई देशका सत्तारुढ कम्युनिष्ट पार्टीहरूले अपनाएका सिद्धान्तबारे दुई दिने छलफल र अनुभव आदानप्रदानपछि यस्तो सम्झौता हुने भएको हो ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको उपस्थितिमा हुन लागेको सम्झौतापत्रमा उच्च स्तरीय भ्रमण आदानप्रदान तथा दुई पार्टीबीचको सहयोग सम्बन्धमा हस्ताक्षर हुने नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
सम्झौतापत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्ने रिजालले जानकारी दिए ।
नेकपा र सीपीसीका नेताहरुवीच सोमबारदेखि काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल ‘याक एण्ड यती’ मा दुईदिने विचार आदानप्रदान कार्यक्रम भइरहेको छ । कार्यक्रमको दोस्रो दिन दुई पार्टीवीच औपचारिक सम्झौता हुन लागेको हो ।
याक एण्ड यती होटेलमा सोमबार साँझ भएको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले पार्टी स्कुल विभागको पाठ्यक्रम बनाउन चीनियाँ कम्युनिष्ट पार्टीको सहयोग अपरिहार्य रहेको बताएका थिए ।
सीसीपी विदेश विभाग प्रमुख सोङ ताओले नेकपाले यहाँको परिस्थितिसँग जोडेर मार्क्सवादको प्रयोग गरिरहेकोमा प्रशंशा व्यक्त गर्दै चीनियाँहरूले पनि धेरै कठिनाइ झेल्दै सी पथमा आइपुगेको बताएका थिए । उनले भने, ‘तथ्यभित्र सत्य खोज्नु मार्क्सवादको आत्मा हो । मार्क्सवाद जडसूत्र होइन ।’
उनले भने, ‘उत्पादनशक्ति जीवनको शर्त हो । त्यो अर्थतन्त्रको आधार पनि हो । पूँजीवादभन्दा समाजवाद श्रेष्ठ हो भन्ने हामीले प्रमाणित गरिसकेका छौँ । आर्थिक निर्माण सबैको समाधान हो ।’ उनले बेल्ट एण्ड रोडको अवधारणाका आधारमा पार्टी महासचिवसमेत रहेका वर्तमान राष्ट्रपति सीले सीपीसीलाई नयाँ विचारधाराका आधारमा अघि बढाइरहेको बताए ।
नेकपासँग पार्टी निर्माणमा सहयोग आदानप्रदान गर्न तयार रहेको बताउँदै उनले भने, ‘नेकपा पार्टी स्कुललाई सहयोग गर्न मन लागेको छ ।’
समारोहमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र देश निर्माणमा चीनियाँ सहयोग जरुरी रहेको बताएका थिए ।
माओको नेतृत्वमा क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्र चीन स्थापना भएको वर्ष नेकपाको स्थापना भएको थियो । सन् १९५५ मा नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको हो । नेकपाका वर्तमान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला सन् २०१७ मे १२ मा नेपालले बीआरआईमा हस्ताक्षर गरेको हो ।











