एमसिसी जबरजस्ती पेलेर पास गरियाे : खनाल
काठमाडाैं, फागुन १८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसिसीको व्याख्यात्मक घोषणालाई ‘न्यानो थाङ्नो’ को संज्ञा दिएका छन्। ‘व्याख्यात्मक घोषणा नेताहरू...
काठमाडाैं, फागुन १८ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसिसीको व्याख्यात्मक घोषणालाई ‘न्यानो थाङ्नो’ को संज्ञा दिएका छन्। ‘व्याख्यात्मक घोषणा नेताहरू आनन्दपूर्वक सुतून् भनेर बनाइएको एउटा न्यानो थाङ्नो मात्रै हो,’ उनले भने।
आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सांसदहरूलाई हेरेको हेर्यै पारेर जबरजस्ती माथिबाट पेलेर एमसिसी पास गरिएको बताए। ‘यो नेपालको इतिहासमा दुःखद लज्जाजनक कुरा हो,’ उनले भने, ‘न छलफल गर्ने वातावरण बन्यो, सांसदहरूलाई हेरेको हेर्यै पारेर जबरजस्ती माथिबाट पेलेर पास गरियो।’ एमसिसीमा राष्ट्रघाती कुरा भए पनि त्यसलाई नसुधारिएको भन्दे उनले असन्तुष्टिसमेत व्यक्त गरे।
एमसिसी संसदबाट पास गर्दा प्रक्रिया नै नपुगेको उनले बताए। ‘कथित घोषणा अलग्गै पारित गरेर एमसीसी सम्झौता अलग्गै पारित गर्नुपर्ने भए पनि हामीलाई थाहै निदई झ्यामझ्याम आएर झ्यामझ्याम पास गरियो,’ उनले भने।
एमसिसी कार्यान्वयनमा ठूलो चुनौती रहेको पनि उनले बताए। ‘एमसिसीले नेपालको भाग्य भविष्यमाथि दूरगामी असर गर्छ,’ उनले भने, ‘यसले संसद विभाजित बनायो, राजनीतिक पार्टी विभाजित भए, यस्ता थुप्रै असरहरू देखिन बाँकी छ।’
उनले एमसिसीका कारण नबनेकाले एमसिसीकै कारण गठबन्धन नटुट्नेसमेत दाबी गरे।












