जुम्लाको सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन
खलङ्गा, फागुन १८ : जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १...
खलङ्गा, फागुन १८ : जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताए।
उनले भने, ‘खस भाषा यहाँको पहिचान हो । नेपाली भाषाको केन्द्रविन्दु मानिएको सिञ्जामा खस भाषाको पाठ्यक्रम बनाएर पढाइ प्रारम्भ हुनु सुखद पक्ष हो । अब यहाँको इतिहास बालबालिकाले खस भाषामै पढ्न पाउनेछन।’
यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रको बयान पनि खस भाषामै गर्ने गाउँपालिका प्रवक्ता शर्माले बताए । खस भाषाको पाठ्यक्रम निर्माणले सिञ्जा क्षेत्रका स्थानीयवासी खुसी भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए।
अब खस भाषाको पाठ्यक्रम निर्माणले खस भाषाको प्रवद्र्धन गर्ने विश्वास गाउँपालिकाले लिएको छ । नवौँ गाउँसभाले १५ शय्या अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरुको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष रावलले बताए।
स्थानीय सरकार सञ्चालन भएदेखि न्यायिक समितिको माध्यमबाट गाउँमा हुने स–साना विवाद समाधान गर्न सफल भएको गाउँपालिकाका उपाध्यक्ष जन्मकन्य खत्रीले बताए। गरिबीको अन्त्य गर्न कृषि उत्पादनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवावर्गलाई कृषिमा आकर्षित गर्न र कृषिलाई आधुनिकीकरण गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने नीति लिएर कार्यान्वयन भइसकेको गाउँपालिकाले जनाएको छ।












