Kathmandu Press

डोलेश्वर, आशापुरीदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो, एकैदिन ६० हजारले गरे दर्शन

काठमाडाैं, फागुन १७ : महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ।सूर्यविनायक नगरपालिका–८...
डोलेश्वर, आशापुरीदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो, एकैदिन ६० हजारले गरे दर्शन

काठमाडाैं, फागुन १७ : महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि साँझसम्मनै भीड लागेको वडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए।

Hardik ivf

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको र बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आजको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ। आजको दिन यस मन्दिरमा ६० हजार दर्शनार्थीले डोलेश्वर महादेवको पूजा एवं दर्शन गरेको बताउँदै थापाले नागा बाबासहित ४५० जोगी धुनी जगाएर बसेको जानकारी दिए।

महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ। मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ। यहाँ आएका साधुसन्तका लागि खाने बस्ने सुविधा मिलाइएको जानकारी दिँदै थापाले धुनी जगाउनका लागि काठ उपलब्ध गराइएको बताए।

मन्दिरमा आउने भक्तजनलाई खिर, पुरी, तरकारी, चियालगायतका खाजा निःशुल्क वितरण गरिएको छ। नेपाली सेना र अन्य निजी अस्पताल तथा सूर्यविनायक नगर अस्पतालबाट निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ। डोलेश्वर आउने साधुसन्त एवं नागा बाबालाई समितिले एकएक थान धोती र कम्बल दिएको छ भने फर्कने बेलामा उनीहरुलाई तहअनुसार ११०० रूपैयाँ, १३०० रूपैयाँ र १५०० रूपैयाँका दरले भेटी दिएर बिदाइ गरिने गरिने समितिले जानकारी दिएको छ।

यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ। मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ।

त्यस्तै सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवका रूपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिए।

त्यसैगरी सूर्यविनायक नगरपालिकाभित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा नि दर्शनार्थीको भीड लागेको छ।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्