Kathmandu Press

तीन सयभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगे

रसुवा, फागुन १७ : शिवरात्रि पर्वका अवसरमा सयाैँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन्। पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ...
तीन सयभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगे

रसुवा, फागुन १७ : शिवरात्रि पर्वका अवसरमा सयाैँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन्। पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए।

समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तीर्थको दहमा पानी जमेका कारण हवाईमार्गबाट गएका भक्तजनले सिम्रिक एयर हेलिकोप्टर कम्पनीले गत वर्ष स्थापना गरेको शिव मूर्तिमा पूजाआजा गरेका थिए।

Hardik ivf

यस वर्षको शिवरात्रि पर्वमा हेलिकोप्टरमार्फत ३०० भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको प्रहरी निरीक्षक गणेश सापकोटाले बताए। शिवरात्रि पर्वका अवसरमा पूजा आराधना गर्न आउने भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अगुवाइमा जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दसमेतको प्रहरी टोली गोसाइँकुण्ड पुगेको प्रहरीले जनाएको छ।

हवाईयात्रुलाई काठमाडौँदेखि गोसाइँकुण्डसम्म पुर्‍याउन सिम्रिक, अल्टिच्युट, कैलाश, प्रभुसमेतका हेलिकोप्टर कम्पनीले सेवा दिएका थिए। जिन्दगीमा एक पटक भए पनि पवित्र तीर्थ पुग्नपर्ने मान्यताअनुरूप हिँड्न नसक्ने भक्तजनका लागिसमेत उडान सेवा सञ्चालन गरी हेलिकोप्टर कम्पनीले ठूलो सहयोग पुर्‍याएको तीर्थयात्री सरोज अमात्यले बताए। उचाइ स्थानमा हिउँ हुरीसमेत चल्ने भएकाले दिनको २ बजेसम्म मात्र पाइलटले धार्मिक उडान भरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।
      
हिउँ पग्लिने क्रम सुरू भएको र पैदलयात्रुको आगमनलाई मध्यनजर राखी सुरक्षाको दृष्टिकोणबाट नेपाल प्रहरीले धार्मिक मार्गका होटल लजको अवस्थाका बारेमा अनुगमनसमेत सम्पन्न गरेको छ। प्रहरी निरीक्षक गणेश सापकोटाको अगुवाइमा गएको प्रहरी टोलीले गोसाइँकुण्ड, लौरीविनायक चन्दनबारीसमेतका स्थानलगायत पूरै धार्मिकमार्गको अनुगमन गरेको प्रहरीले जनाएको छ।
         
धार्मिक मार्गलगायत रसुवाको समग्र सुरक्षा व्यवस्था मजबुद पार्न आफू अहोरात्र खट्ने बताउँदै प्रहरी प्रमुख चन्दले धार्मिक मार्गको यात्रा क्रममा बिरामी परेमा, यात्रा गर्दा वा गाउँ समाजमा हिँड्दा कुनै घटना घटेको देखिएमा, कुनै घटना घट्ने सम्भावना पाइएमा प्रहरीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको बताए।

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्